एसईई तोकिएकै मितिमा हुने, परीक्षापछि शिक्षक आन्दोलन ‘थप सशक्त’

हिमाल प्रेस २७ फागुन २०८१ १३:०८ | Tuesday, March 11, 2025
एसईई तोकिएकै मितिमा हुने, परीक्षापछि शिक्षक आन्दोलन ‘थप सशक्त’

काठमाडौँ- नेपाल शिक्षक महासंघले आन्दोलनका क्रममा एसईईमा कुनै अवराेध नगर्ने स्पष्ट पारेको छ। महासंघले चैत १५ सम्मका लागि आन्दोलनको कार्यक्रम सोमबार सार्वजिनक गरेको थियो। एसईई चैत ७ गतेदेखि सुरु हुँदैछ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एसईई रोक्न नचाहेको बताए। उनले शिक्षा र विद्यार्थीको भविष्यप्रति शिक्षकको जिम्मेवारी रहेकाले शिक्षक आन्दोलनको कारण परीक्षा सञ्चालनमा कुनै असर नपर्ने बताए।

अध्यक्ष सुवेदीले भने, ‘शिक्षा भनेको विद्यार्थीप्रति हाम्रो कर्तव्यसँग जोडिएको छ। हामीले वर्षभरि मेहनतपूर्वक पढाएका हाम्रा प्रिय विद्यार्थीको परीक्षा रोकियोस् भन्ने हामी चाहदैनौँ। विद्यार्थी र अभिभावक हाम्रा आफ्ना मान्छे हुन् र हामीले विद्यार्थीको भविष्यप्रति खेलबाड गर्न हुँदैन।’

सुवेदीले परीक्षा सकिएपछि देशभरका विद्यालय ठप्प पारेर शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुने बताए।  उनले भने, ‘आन्दोलन सुरु भएपछि शिक्षा ऐन जारी नभएसम्म हामी कार्यक्षेत्रमा फर्कने छैनौँ। लाखौँ शिक्षकलाई राज्यले काठमाडौँ कतिन्जेल राख्न सक्छ? त्यसकारण हामीसँग घुँटा टेक्नु, झुक्नु र विद्यालय शिक्षा ऐन जारी गर्नुको कुनै विकल्प छैन।’

सुवेदीका अनुसार शिक्षकहरू ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ को नारासहित आन्दोलनमा जुटेका छ्न्। ‘अधिकारको कुरा गर्दा कर्तव्य बोध गरेनौँ भने राम्रो परिणाम दिँदैन। हामी परीक्षा बहिष्कारका पक्षमा छैनौँ, हामी परीक्षालाई सञ्चालन हुन दिन्छौँ’, उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एसईईको मिति तलमाथि नहुने बताए। उनले भने, ‘परीक्षा चैत ७ गतेबाटै सुरु हुनेछ। शिक्षक आन्दोलनले विद्यालयका कुनै पनि कार्यक्रम र पढाइलाई असर गर्ने छैन।’ एसईई चैत ७ गते बिहीबारदेखि १९ गते मंगलबारसम्म सञ्चालन हुने तालिका छ।

प्रकाशित: २७ फागुन २०८१ १३:०८ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast