अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

हिमाल प्रेस १४ माघ २०८१ २०:४७ | Monday, January 27, 2025
अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

काठमाडौँ- प्रहरीले दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको छ।

रामेछाप खाँडादेवी गाँउपालिका-९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत ‘मान्ट्रा १०८’ नामक वेबसाइटमार्फत जुवा (सट्टेबाजी) गर्ने/गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्नेलगायतका कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो।’

प्रारम्भिक अनुसन्धानबाट बैँक खाता तथा वेनेन्स आईडी प्रयोग गरी हालसम्म  दुई करोड ४१ हजार छ सय ३६ बराबरको कारोबार गरेको खुल्न आएको तथा निजहरूको शरीर तथा कोठा खानतलासी गर्दा विभिन्न मोडेलका मोबाइल सेट चार थान, कम्प्युटर एक थान, एनसेलका सिमकार्ड ५० थान, एनटीसीका सिमकार्ड ९ थान, विभिन्न व्यक्तिहरुको नाममा रहेका एटीएम कार्ड २७ थान, डायरी पाँच थान, चेकबुक सात थान तथा नगद ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: १४ माघ २०८१ २०:४७ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast