 
                             
                                            पोखरा- पोखरामा शुक्रबार फेवातालमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका-२, थापाठाना घर भई हाल पोखरा-७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव हुन्।
बिहीबार दिउँसो साढे १ बजे कोही कसैलाई नसोधी डेराकोठाबाट निस्केका उनी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो। परपरिवारले पनि प्रहरीलाई खबर गर्नुका साथै उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सबैसँग अपील गरेका थिए।
साथीहरूसँग बुझ्दा ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी शुक्रबार दिउँसो ३ बजे गराएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र गण्डकी प्रदेश प्रहरी गण पोखरा तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर, मालेपाटनबाट समेत संयुक्त उद्धार टोली खटिएको थियो। टोलीले साढे ४ बजे डुबेको अवस्थामा फेला पारेको थियो। उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 