पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

हिमाल प्रेस २९ साउन २०८१ ६:४४ | Tuesday, August 13, 2024
पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ। करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण समेत गरिएको थियो।

बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुननिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार २४ लाख ७० हजार ७५० को लागतमा मन्दिर पुनः निर्माण भएको हो।

‘मन्दिर पुननिर्माणका लागि १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म  १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ,’ अध्यक्ष गिरीले भने, ‘चार लाख ७४ हजार ७०७ चन्दा सहयोग, एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौँ।’

दुई लाख ८० हजार ८५६ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमति अनुसार थप एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ। अन्नपूर्ण गाउँपालिकाको १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१–८२ मा पाँच लाख विनियोजन भएको छ।

मन्दिर परिसर घेराबार र हनुमानको मूर्ति राख्न बाँकी छ। मन्दिरभित्र हिन्दु धर्मावलम्बीहरुका भगवान् रामको मूर्ति राखिसकिएको छ । घेराबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताए।

हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालीग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र समेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताइन्।

प्रकाशित: २९ साउन २०८१ ६:४४ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast