विद्यार्थीलाई सिपसँग जोड्दै सामुदायिक विद्यालय

हिमाल प्रेस १७ फागुन २०८० १६:५० | Thursday, February 29, 2024
विद्यार्थीलाई सिपसँग जोड्दै सामुदायिक विद्यालय

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सिपसँग जोड्न थालेको छ। पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालयले विद्यार्थीलाई सिपसँग जोड्दै व्यावहारिक सिप प्रदान गरेको हो।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बमोजिम विद्यालयमा लहरे बालीको नर्सरी स्थापना गरी त्यहाँबाट उत्पादित बेर्ना बिक्री थालिएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए। उनका अनुसार ८० विद्यार्थीले लहरे बालीको नर्सरी व्यवस्थापनमा प्राविधिक ज्ञान हासिल गर्नाका साथै बेर्ना उत्पादन भएर बिक्री सुरु गरिएको छ।

पहिलो चरणका चार सय बेर्ना दोस्रो आँबुखैरेनी महोत्सवमा लगेर बिक्री गरिएको प्रधानाध्यापक ढकालले बताए। उनले भने, ‘पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत अहिलेको मौसम अनुसार लहरे बालीलाई अगाडि बढाउनुपर्छ भन्ने हेतुले विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा बेर्ना उत्पादन गरेका थियौं। चार सय बेर्ना उत्पादन भएकामा अधिकांश बेर्ना बिक्री भइसकेको छ।’

प्रधानाध्यापक ढकालका अनुसार लहरे बालीको बेर्ना बिक्रीका लागि आँबुखैरेनी महोत्सव फलदायी भएको छ। गाउँपालिकाले बेर्ना बजारीकरणका लागि सहजीकरण गरिदिएको थियो। उक्त विद्यालयका विद्यार्थीले गत वैशाखमा अदुवा र हलेदो खेतीको सुरुआत गरेका थिए। दुई रोपनी जमिनमा अदुवा र हलेदो रोपिएको थियो। उनले भने, ‘यो कार्यक्रमले अध्ययनका साथै व्यावहारिक सिप सिकाउन मद्दत मिलेको छ। यसले विद्यार्थीलाई धेरै कुराको ज्ञान भएको छ।’

शिक्षासँग सिप अभियानलाई अगाडि बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार मित्रता माध्यमिक विद्यालयमा चित्रकला, सयपत्री फूल खेती, कन्यादेवी माध्यमिक विद्यालयमा कुखुरापालन लगायत कार्यक्रम सुरु गरिएको छ।

उनले भने, ‘विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ। सिपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरु गरेका हौँ।’ गाउँपालिकाले विद्यालयको माग र आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि यो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। रासस

प्रकाशित: १७ फागुन २०८० १६:५० | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast