एनपीएलको लिग चरणमा बने यस्ता कीर्तिमान

हिमाल प्रेस १ मंसिर २०८३ १४:०१ | Tuesday, November 17, 2026
एनपीएलको लिग चरणमा बने यस्ता कीर्तिमान

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरणमा ब्याटिङ र बलिङतर्फ थुप्रै उत्कृष्ट कीर्तिमान बने। पोखरा एभेन्जर्सका युवराज सामराले बनाएको २९४ रन, सन्दीप लामिछानेको एकै खेलमा ६ विकेट र पोखरा एभेन्जर्सले बनाएको ३ विकेटको क्षतिमा २२४ रन प्रतियोगिताका प्रमुख उपलब्धि रहे।

लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको साविक विजेता लुम्बिनी लायन्सले मंगलबार पहिलो क्वालिफायरमा दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। विजेता टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले पनि उपाधि भिडन्तमा पुग्ने अर्को अवसर पाउनेछ।

पहिलो क्वालिफायरमा पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउन इलिमिनेटरको विजेतासँग खेल्नेछ। इलिमिनेटरमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्नेछन्। इलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

एनपीएलको नकआउट चरण सुरु हुँदै गर्दा लिग चरणका केही प्रमुख तथ्यांक यहाँ प्रस्तुत गरिएको छ।

सर्वाधिक रन बनाउने खेलाडी

पोखरा एभेन्जर्सका युवराज सामरा सर्वाधिक रन बनाउने खेलाडी बने। उनले चार इनिङ्समा ७३.५० को औसतले २९४ रन बनाए। उनले कर्णाली याक्सविरुद्ध १०२ रन बनाउँदै प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाए।

विराटनगरका लोकेश बम ७ इनिङ्समा ३४.५७ को औसतले २४२ रन बनाउँदै दोस्रो स्थानमा रहे। पोखराका कुशल भुर्तेल ३३.५७ को औसतले २३५ रन बनाउँदै तेस्रो स्थानमा रहे।

सर्वाधिक स्ट्राइक रेट

सुदूरपश्चिमका स्कट कुगेलाइनले २५२.३८ को स्ट्राइक रेटसहित शीर्ष स्थान ओगटे। काठमाडौँ गोर्खाजका सोनु देवकोटा २०७.१४ को स्ट्राइक रेटसहित दोस्रो स्थानमा रहे। उनले भने एकपटक मात्रै ब्याटिङ गरेका थिए। विराटनगरका इसुरु उदाना दुई इनिङ्समा २०६.६६ को स्ट्राइक रेटसहित तेस्रो स्थानमा रहे।

सर्वाधिक टिम स्कोर

प्रतियोगितामा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजविरुद्ध ३ विकेटको क्षतिमा बनाएको २२४ रन सर्वाधिक टिम स्कोर हो। पोखराले कर्णाली याक्सविरुद्ध पनि ३ विकेट गुमाएर २१७ रन बनाएको थियो। लिग चरणमा कर्णालीले विराटनगरविरुद्ध बनाएको ६ विकेटको क्षतिमा १८७ रन तेस्रो ठूलो टिम स्कोर रह्यो।

सर्वाधिक छक्का

विराटनगरका लोकेश बमले सात इनिङ्समा १८ छक्का प्रहार गर्दै शीर्ष स्थानमा रहे। पोखरा एभेन्जर्सका सामरा र कुशल भुर्तेल क्रमशः १६ र १५ छक्कासहित दोस्रो र तेस्रो स्थानमा रहे।

सर्वाधिक साझेदारी

पोखराका सामरा र भुर्तेलले प्रतियोगिताकै सर्वाधिक साझेदारी गरे। उनीहरूले काठमाडौँ गोर्खाजविरुद्ध दोस्रो विकेटका लागि १८६ रन जोडे। यही जोडीले कर्णाली याक्सविरुद्ध पनि १३६ रनको साझेदारी गरेको थियो।

विराटनगर किंग्सका शुभम रञ्जना र केआईसी असलंकाले लुम्बिनी लायन्सविरुद्ध ११२ रनको साझेदारी गर्दै तेस्रो ठूलो साझेदारीको कीर्तिमान बनाए।

सर्वाधिक विकेट लिने खेलाडी

चितवनका कमल ऐरी र रिजन ढकाल तथा जनकपुरका राहुल यादवले समान १२ विकेट लिए। तर, पाँच इनिङ्समा ८.५८ को औसतमा विकेट लिएका ऐरी उत्कृष्ट औसतका आधारमा शीर्ष स्थानमा रहे। छ इनिङ्समा १०.५० को औसतमा विकेट लिएका ढकाल दोस्रो भए। सात इनिङ्समा १३.१६ को औसतमा विकेट लिएका यादव तेस्रो स्थानमा रहे।

एकै इनिङ्समा उत्कृष्ट बलिङ

विराटनगर किंग्सका सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्ध २७ रन खर्चेर ६ विकेट लिए। ह्याट्रिकसमेत गरेका उनले प्रतियोगिताकै उत्कृष्ट बलिङ प्रदर्शन गरे।

कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध १२ रन खर्चेर चार विकेट लिए। त्यस्तै, जनकपुरका हरमित सिंहले सुदूरपश्चिम रोयल्सविरुद्ध १७ रन दिएर चार विकेट लिए।

उत्कृष्ट बलिङ इकोनोमी

पोखराका बंगलादेशी अलराउन्डर सकिब अल हसन बलिङ इकोनोमीमा शीर्ष स्थानमा रहे। उनले तीन इनिङ्समा प्रतिओभर ४.५० रन खर्चिए। सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी पाँच इनिङ्समा ५.२६ को इकोनोमी रेटसहित दोस्रो भए। काठमाडौँका शाहब आलम चार इनिङ्समा ५.३३ को इकोनोमी रेटसहित तेस्रो स्थानमा रहे।

सर्वाधिक क्याच

पोखराका सी करुणारत्ने र कुशल भुर्तेल तथा कर्णालीका अरिफुल इस्लामले समान सात क्याच लिए। लिग चरणमा कुनै पनि खेलाडीले लिएको यो सर्वाधिक क्याच संख्या हो।

सर्वाधिक विकेटकिपिङ डिसमिसल

विकेटकिपरमध्ये सुदूरपश्चिमका विनोद भण्डारीले सर्वाधिक ६ डिसमिसल गरे। कर्णालीका दीपक डुम्रे पाँच डिसमिसलसहित दोस्रो भए भने जनकपुरका अनिल साहले चार डिसमिसल गरे।

प्रकाशित: १ मंसिर २०८३ १४:०१ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast