काठमाडौँ- हुसैन तलातको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ मा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो।
चितवनले लक्ष्य पछ्याउने क्रममा सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। उसका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए। उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे। ओपनर कामिल मिशाराले १७ बलमा २५ रन जोडे।
कुशल मल्लले १५ बलमा १८ र देव खनालले १३ बलमा १४ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान सिकन्दर रजा दुई रनमा आउट हुँदा विवेक यादवले ६, डान माउस्लीले आठ र सलाहुद्दिन खानले सात रन बनाए। अशोक धामीले सात बलमा ११ रन जोडे।
कर्णालीका हुसैन तलातले बलिङमा पनि प्रभाव जमाए। उनले ३.१ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए। पवन सर्राफ र मार्क वाटले समान दुई तथा सोमपाल कामीले एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो। उसका लागि तलातले अविजित ५१ रनको योगदान दिए। उनले ३३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।
अरिफुल इस्लामले १५ बलमा ३५ रन बनाए भने गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ६ बलमा १८ रन जोडे। यी ब्याटरको योगदानमा कर्णालीले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
ब्याटिङमा अर्धशतक र बलिङमा तीन विकेट लिएका तलात खेलका निर्णायक खेलाडी बने।
यस जितसँगै कर्णालीले प्रतियोगिताको अन्त्य जितका साथ गरेको छ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले प्रतिष्ठाको खेलमा चितवनलाई हराएको हो। चितवन भने शीर्ष दुईमा स्थान बनाउन असफल भएपछि एलिमिनेटर खेल्नेछ।



