काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएपछि विराटनगर किंग्सका ओपनर लोकेश बमले समर्थकप्रति आभार व्यक्त गरेका छन्।
शनिबार लुम्बिनी लायन्ससँग पराजित भएपछि विराटनगरको प्लेअफ यात्रा समाप्त भएको थियो । त्यसपछि आइतबार सामाजिक सञ्जालमार्फत लोकेशले समर्थकको साथ र मायाप्रति धन्यवाद दिएका हुन्।
उनले अपेक्षित नतिजा हासिल गर्न नसके पनि समर्थकबाट पाएको माया र साथ आफूहरूले अपेक्षा गरेभन्दा धेरै रहेको बताएका छन्।
‘हामीले चाहेको नतिजा प्राप्त गर्न सकेनौँ तर हामीले पाएको माया र साथ हाम्रो अपेक्षाभन्दा धेरै रह्यो,’ उनले लेखेका छन्।
विराटनगर किंग्सका समर्थक, शुभचिन्तक तथा टिमसँग जोडिएका सबैलाई धन्यवाद दिँदै उनले समर्थकको साथ शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।
आगामी दिनमा अझ बलियो विश्वास र उही जोशका साथ फर्किने प्रतिबद्धता व्यक्त गर्दै उनले यात्रा अझै जारी रहेको उल्लेख गरेका छन्।



