काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्सीलाई भित्र्याएको छ। अघिल्लो सिजनमा मुन्सी विराटनगर किंग्समा थिए।
विराटनगरबाट मुन्सीले राम्रो प्रदर्शन गर्न सकेनन्। तर उनी नेपाली पिच बुझेका खेलाडी हुन्। स्कटल्यान्डको टिमबाट खेल्ने उनी लिग २ लगायतका खेल खेल्न पनि नेपाल आएका छन्। सोही कारण पनि सुदूरपश्चिमले एनपीएलका बाँकी खेलका लागि मुन्सीलाई अनुबन्ध गरेको हो। सुदूरपश्चिम एनपीएलको क्वालिफायरमा पुगेको छ।
स्कटल्यान्डका ओपनिङ ब्याटर ३३ वर्षीय मुन्सी आक्रमक ब्याटिङ गर्ने खेलाडीमा पर्छन्। उनले टी–२० अन्तर्राष्ट्रिय ८८ खेलमा २४३ को स्ट्राइक रेटले दुई हजार ५९८ रन बनाएका छन्।
टी–२० मा उनको उच्च स्कोर १३२ रन रहेको छ। उनले तीन शतक र १४ अर्धशतक प्रहार गरेका छन्।
सुदूरपश्चिमका प्रभावशाली खेलाडी ब्रान्डन म्याकमुलेन फर्किएका छन्। उनको स्थानमा मुन्सीलाई अनुबन्ध गरिएको सुदूरपश्चिम रोयल्सले जनाएको छ।
सुदूरपश्चिम रोयल्सले मंगलबार लुम्बिनी लायन्ससँग पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्दै छ। यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ।



