कुशल र युवराजको तुफानी ब्याटिङ, पोखराले बनायो एनपीएल इतिहासकै ठूलो स्कोर

हिमाल प्रेस २९ कार्तिक २०८३ १८:४७ | Sunday, November 15, 2026
कुशल र युवराजको तुफानी ब्याटिङ, पोखराले बनायो एनपीएल इतिहासकै ठूलो स्कोर

काठमाडौँ- पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक बनाउनबाट एक रनले चुकेका छन्। काठमाडौँ गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेका उनी ९९ रनमा आउट भए पनि एनपीएलको इतिहासमा नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोर बनाएका छन्।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो। यो एनपीएल इतिहासकै अहिलेसम्मको सर्वाधिक ठूलो स्कोर हो।

पोखराका लागि कुशलले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए। शतक पूरा गर्न एक रन आवश्यक रहेका बेला उनी काठमाडौँका कप्तान करण केसीको बलमा कट बिहाइन्ड भए।

यससँगै कुशलले एनपीएलमा नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसअघि रोहित पौडेलले बनाएको ९५ रन नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोर थियो।

पोखराको विशाल योगफल निर्माणमा ओपनर युवराज सिंह सम्राले पनि उत्कृष्ट योगदान दिए। उनले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन बनाए।

ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि क्रिजमा आएका कुशलले सम्रासँग मिलेर काठमाडौँका बलरमाथि आक्रामक प्रहार गरेका थिए। यी दुईले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे। यो एनपीएल इतिहासकै अहिलेसम्मको ठूलो साझेदारी हो।

यसअघि सन् २०२४ मा सम्पन्न एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।

पोखरा एभेन्जर्सले यसअघि कर्णाली याक्सविरुद्ध पनि २१७ रन बनाएको थियो। यससँगै पोखरा एकै संस्करणमा दुई पटक २०० भन्दा बढी रन बनाउने एनपीएल इतिहासकै पहिलो टोली बनेको छ।

यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो। पोखराले आइतबार उक्त कीर्तिमानसमेत तोड्दै एनपीएलकै सर्वाधिक ठूलो योगफल बनाएको हो।

काठमाडौँका कप्तान करण केसीले १९औँ ओभरमा कुशल भुर्तेल र युवराज सम्रा दुवैलाई आउट गरे। करणले दुई विकेट लिँदा जहानदाद खानले एक विकेट हात पारे।

प्रकाशित: २९ कार्तिक २०८३ १८:४७ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast