यूएईका नेपालीले गृहमन्त्रीलाई सोधे- हुन्डी नियन्त्रणदेखि श्रमिकका समस्या समाधानमा योजना के छन्?

रुपेश अधिकारी २९ कार्तिक २०८३ १७:४९ | Sunday, November 15, 2026
यूएईका नेपालीले गृहमन्त्रीलाई सोधे- हुन्डी नियन्त्रणदेखि श्रमिकका समस्या समाधानमा योजना के छन्?

अबुधाबी- गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली व्यवसायी तथा समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन्।

गृहमन्त्री गुरुङ यूएई सरकारको आयोजनामा दुबईमा भइरहेको ‘वर्ल्ड पुलिस समिट’ मा सहभागी हुन शुक्रबार यूएई पुगेका हुन्।

उनले शनिबार अबुधाबीस्थित नेपाली दूतावासमा नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग यूएईका प्रमुख सुजन थापाले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले सुशासन, राष्ट्रिय सुरक्षा, वित्तीय अपराध नियन्त्रण, वैदेशिक रोजगारीका समस्या, रेमिट्यान्स व्यवस्थापन तथा प्रवासी नेपालीको मतदान अधिकारलगायतका विषयमा सरकारको योजना र धारणा माग गरेका थिए।

अन्तरक्रियाका क्रममा गृहमन्त्री गुरुङले अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने र कसैलाई उन्मुक्ति नदिइने प्रतिबद्धता व्यक्त गरे। देशमा विधिको शासन स्थापित गर्दै व्यवस्थित प्रणाली निर्माण गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षालाई सरकारको प्राथमिकतामा राखिएको बताए।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारले आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए। विदेशबाटै मतदान गर्न सकिने व्यवस्था लागू गर्ने विषयमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो। नागरिकका समस्या, गुनासा र सुझाव सुनेर समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

छलफलका क्रममा प्रभु बैंकका यूएई प्रमुख प्रकाश पौडेलले अवैध हुन्डी कारोबार नियन्त्रण गर्दै वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउने नेपालीलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए।

कम्तीमा ५० प्रतिशत रेमिट्यान्स औपचारिक बैंकिङ प्रणालीमार्फत पठाउने नेपालीलाई सरकारी सेवा तथा सुविधामा सहुलियत दिनुपर्ने उनको प्रस्ताव थियो। यस्तो योगदानलाई श्रम स्वीकृति नवीकरणजस्ता सरकारी प्रक्रियामा समेत मान्यता दिनुपर्ने उनले बताए।

त्यस्तै, यूएईमा रहेका नेपाली व्यवसायीहरूले व्यक्तिगत कामदारको मागपत्र (डिमान्ड लेटर) प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। उनीहरूले उक्त प्रक्रियालाई सहज, पारदर्शी र व्यवस्थित बनाउन माग गरेका थिए।

नेपालमा आपराधिक गतिविधिमा संलग्न भएर विदेशमा लुकेर बस्ने तथा विदेशमै रहेर नेपाली नागरिकलाई ठगी गर्ने गिरोहविरुद्ध प्रभावकारी कारबाही गर्नुपर्ने विषय पनि उठाइएको थियो। त्यस्ता व्यक्तिको पहिचान गरी सम्बन्धित मुलुकका सुरक्षा निकायसँग समन्वय गर्न र कानुनी तथा कूटनीतिक प्रक्रियामार्फत नेपाल ल्याएर कारबाही गर्न सहभागीहरूले सुझाव दिएका थिए।

विदेशमा रहेका नेपालीको सुरक्षा, आर्थिक अधिकार, सम्पत्तिको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्न प्रभावकारी सरकारी संयन्त्र निर्माण गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए।

सहभागीका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री गुरुङले सामाजिक अपराध तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक दुवैको सहकार्य आवश्यक रहेको बताए। शान्ति, सुरक्षा र सुशासन कायम गर्न नागरिकको सहयोग र जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, उपनियोग प्रमुख रञ्जिता दाहाल, दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीलगायतका पदाधिकारीहरूको उपस्थिति थियो। उनीहरूले सहभागीका जिज्ञासाको जवाफ दिँदै आवश्यक जानकारी तथा सुझावसमेत दिएका थिए।

प्रकाशित: २९ कार्तिक २०८३ १७:४९ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast