काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबार गेटअगाडि भएको प्रदर्शन र सांसदविरुद्ध आएको धम्कीप्रति आपत्ति जनाएको छ।
सचेतस धितालले आफ्नो धारणा राखेकै कारण उनीविरूद्ध भएको प्रदर्शन अभिव्यक्ति स्वतन्त्रताविपरित भएको भन्दै रास्वपा महामन्त्री प्रतिवादमा उत्रिएका हुन्।
महामन्त्री आचार्यले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न संसद् र सरकार गम्भीर हुनुपर्ने बताए।
सम्बोधनको सुरुवातमा उनले फ्रान्सेली दार्शनिक भोल्तेयरको भनाइ स्मरण गर्दै भने,‘म तिम्रो कुरासँग असहमत हुनसक्छु। तर, तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम साससम्म लडिरहनेछु।’
उनले यो भनाइले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता र सहिष्णुताको महत्व झल्काउने उल्लेख गर्दै नेपालको संविधानले पनि यसलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको बताए।
आचार्यले सांसदले फरक विचार राखेकै कारण सार्वजनिक रूपमा धम्की पाउनु अस्वीकार्य भएको बताए। उनले भने,‘फरक विचार राखेकै कारण सांसदहरूविरुद्ध खुल्लमखुला सिंहदरबारकै गेटअगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।’
उनले धितालको नाम भने लिएनन्। केही दिनअघि धितालको अभिव्यक्तिलाई लिएर जेनजी सहिदका अभिभावकले सिंहदरबार गेटअगाडि प्रदर्शन गरेका थिए।
भदौ २३ गते पुरानो संसद् भवन परिसरमा आयोजित जेनजी सहिद प्रथम स्मृति दिवस कार्यक्रमपछि धितालले उक्त कार्यक्रममा विवादित धर्म गुरुहरूलाई ल्याइएको भन्दै प्रश्न उठाएकी थिइन्।
उनले सहिद परिवार र आन्दोलनका घाइतेको पीडा सम्बोधन नगरी कार्यक्रमलाई भव्य मञ्च, धर्मगुरुको सहभागिता र कन्सर्टजस्तो बनाइएको भन्दै आपत्ति जनाएकी थिइन्। गृहमन्त्री सुदन गुरुङको भाषणप्रति पनि उनले असहमति व्यक्त गरेकी थिइन्।
पछिल्लाे एक अन्तरवार्तामा धितालले गृहमन्त्रीसँग भएको ह्वाट्सएप संवादबारे पनि खुलासा गरेकी थिइन्। उनका अनुसार गृहमन्त्रीले ‘थाहा नभएको कुरा किन बोलेको?’ र ‘खोला तर्यो लौरो बिर्सियो’ भन्दै प्रश्न गरेपछि आफूले जवाफ दिएकी थिइन्।
धितालले गृहमन्त्रीलाई दिएको जवाफमा उनैले भनिन्,‘गृहमन्त्रीज्यू, तपाईँको तमिज भएन। अपराधीलाई छेउमा राखेर जेनजीको माग पूरा हुन्छ र? जेनजीको आन्दोलन तपाईँ एक्लैको हो भन्ने लाग्छ भने भ्रमबाट निस्किनुस्। संसद्मा भेटौँला। मलाई तपाईँप्रति दया लाग्छ।’
उनले आन्दोलन कुनै एक व्यक्तिको मात्र नभएको र ‘हामी पुरानासँग सिक्न आएका होइनौँ, सिकाउन आएका हौँ’ भन्ने अभिव्यक्ति गृहमन्त्रीको व्यक्तिगत धारणा हुन सक्ने टिप्पणी पनि गरेकी थिइन्।
प्रतिनिधिसभामा आचार्यले सांसदलाई बोल्न नडराउने वातावरण बनाउन सरकारसँग माग गरे। उनले भने,‘यी अतिवादी धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको छु।’
उनले संसद्लाई आफ्ना सबै सदस्यको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन आग्रह गरे। उनले भने,‘म चाहन्छु- यस सम्मानित संसद्ले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्, ‘बोल्न नडराउनू, हामी तपाईँसँगै छौँ।’


