काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सातवटा उपसमिति गठन गरेको छ। महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिहरूका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि विभिन्न जिम्मेवारीसहित सातवटा उपसमिति गठन गरेको छ।
गठित उपसमितिहरूमध्ये क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा तोशिमा कार्की रहेका छन्।
त्यसैगरी, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी तथा प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको छ।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन प्रक्रिया खुला गर्ने निर्णयसमेत गरेको छ।



