काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि चार दिनसम्म निरन्तर उकालो लागेको सुनको मूल्य गत शुक्रबार पनि घटेको थियो। शुक्रबार प्रतितोला ३ हजार २ सय रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ८० हजार ३ सय रुपैयाँमा झरेको थियो। त्यसअघिका चार दिनमा भने सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको थियो।
गत साताको पहिलो दिन अर्थात् कात्तिक ८ गते पनि सुनको मूल्यमा प्रतितोला ११ हजार ७ सय रुपैयाँको गिरावट आएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली बजारमा सुनको मूल्यले गत वर्ष माघ १५ गते ऐतिहासिक उचाइ कायम गरेको थियो। उक्त दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। माघ १८ गते भने चाँदीको मूल्यमा एकैदिन प्रतितोला १ हजार ५६५ रुपैयाँको गिरावट आएको थियो। यो हालसम्मकै ठूलो एकदिने गिरावट हो।



