काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदाै १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली राजदूतावास अबुधाबीमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरिएको छ।
नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक मनाउने क्रममा सोमबार दूतावास परिसरमा शोकसभा तथा दीप प्रज्ज्वलन गरिएको हो।
राष्ट्रियगान र मौनधारणबाट सुरु भएको कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा बाढीबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा परिवारसँग पुनर्मिलनको कामना गरिएको थियो। राष्ट्रिय शोकका अवसरमा दूतावासको झण्डा आधा झुकाइएको थियो।
शोकसभालाई सम्बोधन गर्दै नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले विपत्तिपछि नेपालको पुनर्निर्माण कार्यलाई अघि बढाउन सबैले हातेमालो गर्दै सहयोगी भावनाका साथ अघि बढ्नुपर्ने बताए।
राजदूत क्षेत्रीले बाढी प्रभावित नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले उपलब्ध गराएको राहत सहयोगको प्रशंसा गर्दै नेपाल सरकारका तर्फबाट यूएई सरकारप्रति आभार व्यक्त गरे। उक्त सहयोग जुटाउन नेपाली समुदायले खेलेको भूमिकाको समेत उनले प्रशंसा गर्दै समुदायप्रति धन्यवाद व्यक्त गरे।
नेपाललाई सहयोग गर्ने विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरूप्रति पनि उनले आभार व्यक्त गरे। यूएईमा रहेका नेपालीहरूले खुला हृदयले गरेको मानवीय सहयोग प्रशंसनीय रहेको उनको भनाइ थियो।
शोकसभामा यूएईमा रहेका नेपाल एसोसिएसन, एनआरएनए, एनसीसी, गैरआवासीय नेपाली संघ, नेपाली समाजलगायत विभिन्न सामाजिक तथा वैचारिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले बाढीपीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागीहरूले दूतावासमा राखिएको समवेदना पुस्तिकामा आफ्ना सन्देशसहित हस्ताक्षरसमेत गरेका थिए। दूतावास परिवारसहित करिब ७५ जनाभन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ।


