काठमाडौँ- जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ।केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ।
संविधान संशोधनका लागि पार्टीले सार्वजनिक गरेको ८ बुँदे संकल्पहरूलाई जनतामाझ लाने निर्णय जय नेपाल पार्टीले गरेको छ। बैठकले जिल्ला समिति गठन प्रक्रियालाई सुचारु गर्ने, गठन हुन बाँकी रहेका जिल्लाहरूमा गठन प्रक्रिया तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय सदस्य थप गर्ने निर्णय समेत गरिएको छ । केन्द्रीय सदस्यमा नरेशकुमार राई, केशव पाण्डे र युवराजा राना मनोनित गरिएको छ ।
सम्मानित सल्लाहकार समितिमा देवेन्द्र पौडेल, टीका उप्रेती, राजकुमार कार्की र कमलराज विष्ट लाई मनोनीत गरिएको छ। कोशी इन्चार्जमा सुरेश प्रसाद आचार्य र संयोजकमा नरेशकुमार राईलाई मनोनीत गरिएको छ।
स्थानीय तहका उम्मेदवार गैरदलीय बनाउने विषयमा जनस्तरका राय संकलन गर्ने निर्णय गरिएको छ। १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी प्रदान गरिएको सचिवालय प्रमुख सगुन लावतीले जानकारी गराए।



