विद्यालय सुरक्षा गुरुयोजना सार्वजनिक, २०३० सम्म सबै विद्यालय सुरक्षित बनाउने लक्ष्य

हिमाल प्रेस १ असोज २०८३ ११:०६ | Thursday, September 17, 2026
विद्यालय सुरक्षा गुरुयोजना सार्वजनिक, २०३० सम्म सबै विद्यालय सुरक्षित बनाउने लक्ष्य

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य आपत्कालीन जोखिमबाट विद्यालयलाई सुरक्षित बनाउँदै गुणस्तरीय र उत्थानशील शिक्षाको सुनिश्चितताका लागि बृहत् विद्यालय सुरक्षा गुरुयोजना  परिमार्जन गरी सार्वजनिक गरेको छ।

मन्त्रालयले सन् २०१७ (वि.सं. २०७४) मा तयार गरिएको गुरुयोजनालाई परिमार्जन गर्दै सन् २०३० सम्म देशभरका सबै विद्यालयलाई सुरक्षित, हरित र उत्थानशील बनाउने लक्ष्यसहित नयाँ कार्यढाँचा अघि सारेको हो।

नेपाल सक्रिय भूकम्पीय क्षेत्रमा अवस्थित रहेकाले बाढी, पहिरो, शीतलहर, गर्मी तथा कोभिड-१९ जस्ता महामारीका कारण विद्यालयको पठनपाठन पटक-पटक प्रभावित हुँदै आएको मन्त्रालयले जनाएको छ।

सन् २०१५ को विनाशकारी भूकम्पबाट करिब ३५ हजार कक्षाकोठामा क्षति पुग्दा १० लाख विद्यार्थी प्रभावित भएका थिए भने सन् २०२३ को जाजरकोट भूकम्पबाट ७०० भन्दा बढी विद्यालयमा क्षति पुग्दा एक लाख ५० हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको थियो।

परिमार्जित गुरुयोजनामा चार प्रमुख आधार स्तम्भ र २० प्राथमिकता प्राप्त रणनीतिक कार्य समेटिएका छन्। यसअन्तर्गत सक्षम प्रणाली तथा नीति, सुरक्षित तथा हरित सिकाइ सुविधा, विद्यालय सुरक्षा तथा सिकाइ निरन्तरता व्यवस्थापन र जोखिम न्यूनीकरण तथा उत्थानशीलता शिक्षालाई प्राथमिकता दिइएको छ।

गुरुयोजनाले तीनै तहका सरकारको भूमिका पनि स्पष्ट गरेको छ। स्थानीय तहले विद्यालयसँग समन्वय गर्दै कार्यान्वयन, सहजीकरण र अनुगमन गर्नेछन् भने प्रदेश र संघीय सरकारले नीति तथा पद्धति निर्माण, क्षमता विकास तथा अनुगमन र मूल्यांकनको जिम्मेवारी निर्वाह गर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार संविधानले प्रत्याभूत गरेको नि:शुल्क तथा अनिवार्य आधारभूत तथा माध्यमिक शिक्षाको अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गुरुयोजनाले मार्गदर्शन गर्नेछ।

प्रकाशित: १ असोज २०८३ ११:०६ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast