अनुदान शिक्षक, बाल शिक्षक र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक वृद्धि

हिमाल प्रेस ३१ भदौ २०८३ १७:४९ | Wednesday, September 16, 2026
अनुदान शिक्षक, बाल शिक्षक र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक वृद्धि बालविकास कक्षा । तस्बिर : एआई

काठमाडौँ- तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा नगरपालिका अनुदान कोटामा कार्यरत शिक्षक, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको मासिक पारिश्रमिक बढाएको छ।

नगरपालिकाले यही भदौ २७ गते जारी पत्रमार्फत आर्थिक वर्ष २०८३/८४ देखि कार्यपालिका बैठकको भदौ २६ गतेको निर्णयअनुसार संशोधित पारिश्रमिक लागू गरिएको जानकारी दिएको हो।

नगरपालिकाका अनुसार संघीय अनुदानमा कार्यरत बालविकास सहजकर्ताको मासिक पारिश्रमिक १७ हजार रुपैयाँबाट ८ हजार रुपैयाँ थप गरी २५ हजार रुपैयाँ पुर्‍याइएको छ। नगरपालिकाबाट सञ्चालित बालविकास सहजकर्ताले पनि मासिक २५ हजार रुपैयाँ पाउने भएका छन्।

त्यस्तै, नगर शिक्षा अनुदानअन्तर्गत आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३० हजार रुपैयाँ र माध्यमिक तहका शिक्षकको ४५ हजार रुपैयाँ कायम गरिएको छ। विद्यालय सहयोगी (नगर अनुदान) को मासिक पारिश्रमिक १९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

संघीय अनुदानमा कार्यरत विद्यालय सहयोगीको पारिश्रमिक १९ हजार रुपैयाँबाट ५ हजार ५०० रुपैयाँ थप गरी २४ हजार ५०० रुपैयाँ बनाइएको छ।

विद्यालय सहायक कर्मचारीको पारिश्रमिक पनि २० हजार रुपैयाँबाट १२ हजार ५०० रुपैयाँ थप गरी ३२ हजार ५०० रुपैयाँ पुर्‍याइएको छ।

नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई संशोधित पारिश्रमिकअनुसार कार्यान्वयन गर्न अनुरोध गरेको छ।

प्रकाशित: ३१ भदौ २०८३ १७:४९ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast