काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ।
सामाजिक सञ्जालमा शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकहरूको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन र संलग्न पाइए कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
यसक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षकहरूको राजनीतिक कार्यक्रममा सहभागिताबारे गहन निगरानी गर्न आग्रह गरेको छ।
एकाइले सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही शिक्षक विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको देखिएको उल्लेख गर्दै सम्बन्धित स्थानीय तहलाई आवश्यक निगरानी गर्न भनेको छ।
पत्रमा शिक्षा ऐन, शिक्षा नियमावली र शिक्षक आचरणसम्बन्धी प्रचलित व्यवस्था तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत कुनै गतिविधि भेटिए कानुनबमोजिम आवश्यक कारबाही गर्न पनि अनुरोध गरिएको छ। बैतडीका एकाइ प्रमुख दशरथ दत्त भट्टले जारी गरेको पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई पनि पठाइएको छ।
यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि जिल्लाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।
एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पठाएको पत्रमा सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट प्राप्त सूचनाअनुसार केही शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको जानकारी आएको जनाएको छ।
एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गर्दै उनीहरूको गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को व्यवस्थाविपरीत देखिएको उल्लेख गरिएको छ।
पत्रमा सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरी त्यसको विवरण अविलम्ब शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराउन भनिएको छ। उक्त पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई पनि पठाइएको छ।


