धादिङका विद्यालयमा बाढीको ठूलो असर, बालविकास केन्द्र पूर्ण क्षति

हिमाल प्रेस १ असोज २०८३ ११:४५ | Thursday, September 17, 2026
धादिङका विद्यालयमा बाढीको ठूलो असर, बालविकास केन्द्र पूर्ण क्षति

काठमाडौँ- भोटेकोशी बाढीका कारण धादिङका गल्छी, बेनिघाट रोराङ तथा गजुरी गाउँपालिकाका विद्यालयमा क्षति पुगेको प्रारम्भिक मूल्यांकन देखाएको छ।

र्‍यापिड निड एसेसमेन्ट टोलीले प्रभावित विद्यालयको स्थलगत अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा प्रारम्भिक बालविकास केन्द्र, विद्यालय भवन, शैक्षिक सामग्री र खानेपानी पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गरिएको अध्ययनमा प्रभावित क्षेत्रका विद्यालयको अवस्था, तत्काल आवश्यक सहयोग र पुनःसञ्चालनका उपायबारे विवरण संकलन गरिएको हो।

गल्छी गाउँपालिकाको वागेश्वरी माध्यमिक विद्यालयमा बाढी विद्यालयको पहिलो तलासम्म पसेपछि त्यहीँ सञ्चालित प्रारम्भिक बालविकास केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

प्रतिवेदनअनुसार ईसीडीसँगै प्रयोगशाला, शैक्षिक सामग्री, खेलकुदका सामान, विद्यार्थीका झोला, पाठ्यपुस्तक र स्टेशनरीसमेत नष्ट भएका छन्। बाढीका बेला साना बालबालिका झोला छाडेर सुरक्षित स्थानतर्फ भाग्नुपरेको उल्लेख छ।

टोलीले प्रभावित बालबालिकाका लागि झोला, पाठ्यपुस्तक, स्टेशनरी, फर्निचर, कक्षाकोठाको मर्मत तथा रंगरोगन र मनोसामाजिक परामर्श तत्काल आवश्यक रहेको औंल्याएको छ।

गल्छी गाउँपालिकाको अम्लेश्वर गुरुकुलको भवन बाढीले पुरिएपछि सोही स्थानमा विद्यालय पुनः सञ्चालन गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ।

सक्सेस एकेडेमीको परिसर र चमेनागृहमा क्षति पुगेको छ भने सात जना विद्यार्थीका अभिभावक बेपत्ता छन्। नुवाकोटबाट आउने विद्यार्थीलाई विद्यालय पुग्न समस्या भएकाले काठमाडौँ विश्वविद्यालयको समन्वयमा काउन्सिलिङसहित विद्यालय सञ्चालनको तयारी भइरहेको छ।

धादिङ बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा हाल १२० जना बसोबास गरिरहेका छन् भने १८३ जनाले दैनिक भोजन गरिरहेका छन्। त्यहाँ रहेका ३६ जना बालबालिकाले विद्यालय जान सुरु गरिसकेको प्रतिवेदनमा उल्लेख छ।

बेनिघाट रोराङ गाउँपालिकाको बुद्धिविकास आधारभूत विद्यालयको पश्चिमतर्फको भवन आधा भत्किएको छ भने बाँकी संरचनामा चर्को परेको छ।

विद्यालयलाई चन्द्रोदय माध्यमिक विद्यालयमा अस्थायी शिक्षण केन्द्र स्थापना गरेर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ। विद्यालयका झोला, पुस्तक र खेलकुद सामग्रीमा पनि पूर्ण क्षति पुगेको छ।

धुस्सा सामुदायिक अध्ययन केन्द्रमा भवनभित्र बाढी पसेर सामग्री नष्ट भएका छन्। चन्द्रोदय माध्यमिक विद्यालयको भवन सुरक्षित रहे पनि खानेपानीको लिफ्ट बगाएकाले पानीको अभाव भएको छ।

जलेश्वरी माध्यमिक विद्यालयको बोरिङ, लिफ्टिङ मेसिन, बाटो, खेलमैदान र बगैँचा बाढीले बगाएको छ। विद्यालय सञ्चालनमा आए पनि साना बालबालिका अझै नियमित उपस्थित हुन सकेका छैनन्।

शंखादेवी माध्यमिक विद्यालयमा पर्खाल, बाटो र तीन वटा झोलुङ्गे पुल बगेकाले गोरखाबाट आउने विद्यार्थीलाई विद्यालय पुग्न कठिन भएको छ।

गजुरी गाउँपालिकाको भद्रकाली गुरुकुलको मैदान र बाटो बगाए पनि मुख्य संरचना सुरक्षित रहेकाले विद्यालय सञ्चालनमा आइसकेको छ। त्यहाँ एक जना शिक्षकको घरमा भने क्षति पुगेको छ।

प्रतिवेदनअनुसार सञ्चालन गर्न सकिने विद्यालय पुनः सञ्चालनमा ल्याइसकिएको छ भने मर्मत सम्भव भएका विद्यालयको मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। सञ्चालन असम्भव भएका विद्यालयका लागि वैकल्पिक स्थानको खोजी भइरहेको छ।

प्रभावित विद्यार्थीका लागि अस्थायी शिक्षण केन्द्र र विद्यार्थी सामग्री उपलब्ध गराउने विषयमा युनिसेफसँग समन्वय भइरहेको तथा स्थानीय तहसँग सहकार्य गरी ट्याबमार्फत तथ्यांक संकलनको काम पनि सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १ असोज २०८३ ११:४५ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast