रानीदेवी माविमा प्रयोगात्मक सिकाइको उत्सव, ५३ स्टलमा विद्यार्थीका सिर्जना

हिमाल प्रेस २ असोज २०८३ ८:२६ | Friday, September 18, 2026
रानीदेवी माविमा प्रयोगात्मक सिकाइको उत्सव, ५३ स्टलमा विद्यार्थीका सिर्जना

काठमाडौँ- सरकारी विद्यालयले अवसर, नेतृत्व र सामूहिक प्रयास पाए शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गर्न सक्छन् भन्ने उदाहरण काठमाडौँ महानगरपालिका-३ स्थित रानीदेवी माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ। विद्यालयमा अन्तर्राष्ट्रिय विज्ञान दिवसका अवसरमा ५३ वटा स्टलसहितको भव्य शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न भएको छ।

काठमाडौँ महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीले विभिन्न विषय र विधासँग सम्बन्धित शैक्षिक सामग्री प्रस्तुत गरेका थिए।

विशेषगरी जम्मा तीन दिनको तयारीमा शिक्षकहरूको अथक समन्वय र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ। रानीदेवी माध्यमिक विद्यालयका लागि यस्तो प्रकृतिको प्रदर्शनी पहिलो र नयाँ प्रयाससमेत हो।

विद्यालयको शैक्षिक वातावरण निर्माणमा शिक्षकको भूमिका मेरुदण्डका रूपमा रहने गर्छ भने प्रधानाध्यापक विद्यालयको समग्र नेतृत्व गर्ने मस्तिष्कका रूपमा रहने गर्छन्।

रानीदेवी माविको प्रदर्शनीले शिक्षकहरूको सक्रिय नेतृत्व र विद्यार्थीहरूको लगाव तथा जागरूकता भए छोटो समयमै पनि नयाँ र सिर्जनात्मक काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

प्रदर्शनीले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसरसमेत प्रदान गरेको प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए।

उनका अनुसार ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अवधारणाले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने भएकाले यस्ता कार्यक्रमलाई विद्यालयले प्राथमिकतामा राखेको छ।

‘कक्षाकोठामा विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग गर्छन्,’ प्रधानाध्यापक गौतमले भने,‘विद्यार्थीको सिर्जनशीलता, खोज तथा अनुसन्धान गर्ने बानी र समस्या समाधान गर्ने क्षमताको विकासका लागि पनि यस्ता गतिविधि आवश्यक छन्।’

प्रदर्शनीमा विद्यार्थीले विज्ञान, प्रविधि, गणित, सामाजिक शिक्षा तथा अन्य विषयसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री प्रस्तुत गरेका थिए। सामग्री निर्माण तथा प्रस्तुतिमा विद्यार्थी स्वयं सक्रिय भएकाले उनीहरूले सिकाइलाई प्रयोगात्मक रूपमा बुझ्ने अवसर पाएका थिए।

विद्यालयका शिक्षकहरूको सक्रियता र विद्यार्थीहरूको जागरूकताले सरकारी विद्यालयमा पनि सिर्जनशील, प्रयोगात्मक र नवप्रवर्तनमा आधारित शैक्षिक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनीले दिएको छ।

यस्ता गतिविधिले विद्यार्थीलाई भविष्यमा वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तक बन्न प्रेरित गर्नुका साथै जिम्मेवार नागरिकका रूपमा विकास गर्नसमेत सहयोग पुग्ने विद्यालयको विश्वास छ।

विद्यालयले प्रदर्शनी सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित: २ असोज २०८३ ८:२६ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast