काठमाडौँ- शिक्षा पत्रकार समूहको २७औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित रानीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत वेविसा मगरातीलाई ‘शिक्षा पत्रकार समूह नवप्रवर्तन पुरस्कार’ बाट पुरस्कृत गरिएको छ।
सोमबार नवप्रवर्तनका क्षेत्रमा योगदान तथा सिर्जनात्मक गतिविधिका लागि मगरातीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। उनी कक्षा १० मा अध्ययनरत छिन्।
पुरस्कार प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिलगायत समूहका सम्पूर्ण पदाधिकारी तथा सदस्यप्रति आभार व्यक्त गरे।
उनले विद्यार्थीलाई नवप्रवर्तनका क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने विद्यालयका विज्ञान शिक्षकद्वय टेकबहादुर विश्वकर्मा र नारायण खनालप्रति उच्च सम्मान व्यक्त गरे।
प्रधानाध्यापक गौतमले विद्यार्थीको प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने यस्ता पुरस्कारले विद्यालयमा नवप्रवर्तन र अनुसन्धानको वातावरण निर्माण गर्न थप प्रेरणा मिल्ने बताए।
अन्तर्राष्ट्रिय विज्ञान दिवसका अवसरमा विद्यालयले ५३ वटा स्टलसहितको भव्य शैक्षिक सामग्री प्रदर्शन गरेको थियो। प्रदर्शनमा वेविसाले आफ्नो सिर्जना प्रस्तुत गरेकी थिइन्।



