कांग्रेसको अन्तिम गन्तव्य विभाजन!

शीर्ष नेतृत्व संवादविहीन

किरण पौडेल १९ भदौ २०८३ २०:४३ | Friday, September 4, 2026
कांग्रेसको अन्तिम गन्तव्य विभाजन!

काठमाडौँ- विगतमा पनि विभाजन र एकताबाट गुज्रिएको मुलुककै पुरानो दल नेपाली कांग्रेस यतिबेला फेरि विभाजनकै संघारमा पुगेको छ। मुलुकले बाढीको असह्य पीडा झेल्दै गर्दा कांग्रेस नेताहरू भने एकता, विभाजन र ध्रुवीकरणको हिसाबमा अल्झिएका छन्।

कांग्रेस संस्थापन (गगन थापा) र इतर (शशांक कोइराला) समूहले छुट्टाछुट्टै महाधिवेशनका कार्यतालिका सार्वजनिक गरेर विभाजनको दिशामा अगाडि बढेका हुन्। गगन पक्षले भदौ २४ गते वडा अधिवेशन गरेर महाधिवेशन प्रक्रिया थाल्न कार्यसूची ल्याएको छ।

निर्वाचन समितिको तालिकाअनुसार नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ। गाउँ तथा नगर अधिवेशन भदौ २७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते निर्धारण गरिएको छ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते हुनेछ। सोही दिन एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन पनि गर्ने कार्यतालिका छ।

अन्य जिल्लाको जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १९ गते गर्ने उल्लेख छ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म तोकेको छ।

यता शशांक समूहको आगामी २१, २२ र २३ मंसिरमा काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ। प्रस्तावित तालिकाअनुसार यो समूहले वडा अधिवेशन १५ असोजमा, पालिका अधिवेशन २० असोजमा, प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन २३ असोजमा गर्ने उल्लेख छ। जिल्ला अधिवेशन १५ कात्तिकमा, प्रदेश अधिवेशन ४ मंसिरमा गर्ने कार्यतालिका तय भएको छ।

शशांक र गगनले आफ्ना अडान नछाड्ने हो भने कांग्रेसको विभाजन पक्का छ। अचम्म के छ भने कांग्रेसका अधिकांश नेताहरूले पार्टी एकताको आसलाई विराम दिएका छैनन्। यसअघि पनि कैयौँपटक चर्का विवाद र बहस भएर पनि पार्टी एक ढिक्का रहेकाले यसपालि पनि अन्त्यमा गएर त्यही दिशामा फर्किने विश्वास कतिपय नेताहरूको छ। त्यसैले उनीहरू जसरी एकता गर्नुपर्ने अडान निरन्तर राखिरहेका छन्।

‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। जसरी पनि एक हुनुपर्छ,’ इतरपक्षका नेता रामहरि खतिवडा भन्छन्, ‘सबै नेताहरूले त्याग गरेर भए पनि कांग्रेसलाई एक राख्न प्रयत्न गर्नुपर्छ। म पनि गरिरहेको छु।’

खतिवडा अहिले आफू एकताका पक्षमा उभिएको बताउँछन्। तर उनी नै यसअघिको इतरपक्षको ‘राष्ट्रिय भेला’मा उपस्थित थिए।

नेताहरूका अनुसार दुवै समूहका मुख्य नेताहरूले एकताका लागि प्रयत्न नगर्दा अहिले समस्या भएको हो। ‘यो समयमा फुटेर हुन्न एक हुनु आवश्यक हुन्छ,’ नेता सञ्जय गौतम भन्छन्। नेताहरूले एकताको रटान लिइरहँदा पनि कांग्रेसमा विभाजनको रेखा कोरिएको प्रस्ट छ।

शीर्ष तहमा छैन संवाद

कांग्रेसको दोस्रो तहका अधिकांश नेता एकताका पक्षमा छन्। नेताहरूका अनुसार मोहन बस्नेत, कान्छाराम तामाङलगायतका केही नेता मात्रै अहिले विभाजन गर्नुपर्ने आवाज उठाइरहेका छन्।

नेताहरूका अनुसार अहिले जति संवाद भएको छ, त्यो दोस्रो तहमा मात्र हो। शीर्ष तहका नेताहरूबीच संवाद हुन पाएकै छैन। ‘अहिले पनि संस्थापन पक्षका नेता गगन र इतरको नेता देउवा नै हो। उनीहरूबीच संवाद नभएसम्म एकता हुन्न,’ एक नेता भन्छन्, ‘उनीहरूबीच संवाद भएको छैन।’

त्यसो त केही समयअघि मात्रै सभापति गगनले निवर्तमान सभापति देउवालाई भेट्न चाहेको तर नपाएको बताएका थिए। थापा निकट नेताहरूका अनुसार अहिले पनि गगन देउवासँगै कुरा गर्न चाहन्छन्। तर देउवाले भेट नदिएको ती नेता सुनाउँछन्। तर इतर पक्षका नेता खतिवडा भने गगनले चाहेमा तत्काल देउवासँग भेट हुने बताउँछन्।

‘गगनले चाहेमा राति पनि देउवा दाइसँग भेट हुन सक्छ। नचाहेको भने त के भन्ने र?’ खतिवडा भन्छन्।

देउवा निकट नेताहरू पनि गगनलाई देउवाले तत्काल भेट्न नचाहेको बताउँछन्। सर्वोच्च अदालतमा आधिकारिकताको मुद्दा विचाराधीन रहेकाले छिनोफानोपछि मात्र कुरा गर्न सहज हुने देउवाको बुझाइ छ।

‘आधिकारिकता टुंगो लागेपछि मात्र भेट्ने चाहनामा देउवाजी हुनुहुन्छ,’ केही समयअघि इतरपक्षकै नेता नैनसिंह महरले हिमालप्रेससँग भनेका थिए।

मुख्य नेताहरूबीच संवाद नहुँदा कांग्रेसमा समस्या भएको नेताहरूको बुझाइ छ। पछिल्लो समय पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका नेता पनि कांग्रेस विभाजित हुन नहुने अडानमा छन्। तर उनीहरूको एक्लो प्रयत्नले मात्र एकता सम्भव नदेखिएको नेताहरू सुनाउँछन्।

इतर पक्ष भन्छ : विभाजन हाम्रो बाध्यता हो

संस्थापन पक्ष भदौबाटै महाधिवेशन थाल्ने अडानमा छ। जति सक्दो छिट्टो महाधिवेशन गर्न कार्यतालिका ल्याएको संस्थापन पक्ष बताउँछ।

‘हामीले बृहत् एकताको महाधिवेशन गर्न सोचेरै कार्यतालिका ल्याएका हौँ। ३–४ महिनाको गृहकार्यबाट खाका आएको हो,’ कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला भन्छिन्, ‘अहिलेसम्म आधिकारिकता पाएको भनेको एउटै कांग्रेस हो। त्यही कांग्रेसले कार्यतालिका ल्याएको हो। व्यक्तिले खाका ल्याएर केही हुन्न।’

संग्रौलाका अनुसार सभपति गगनले एकताका लागि संवाद पनि थालेका छन्। तर इतरपक्षका नेताहरू भने थापाले एकताको प्रयत्न गरेको भन्न नमिल्ने बताउँछन्। ‘गगनजी सभापति हो।

इतरपक्षका एक नेताका अनुसार थापाले समन्वय नगरकै कारण विभाजनमा कांग्रेस गएको हो। ‘लोकतन्त्रका लागि लडेका नेताहरू बाहिर हुनुहुन्छ। उहाँहरूसँग पनि त कार्यकर्ता हुनुहुन्छ,’ ती नेता भन्छन्,‘यदि थापाले चासै नदिने हो भने के हुन्छ त विकल्प? बरू पार्टी विभाजन नै भएमा कम्तीमा छानो त हुन्छ।’

ती नेताका अनुसार इतरपक्ष बाध्यताबस विभाजनमा जानुपरेको हो। ‘हेर्नुहोस् न, अहिले कांग्रेस वडा तहसम्म विभाजित छ। गगन दाइले एकता नगर्ने भन्दिँदा वडा तहका कार्यकर्ता पनि बिचल्लीमा पर्छन्,’ उनी थप्छन्, ‘ती कार्यकर्ताका लागि पनि हामीले छुट्टै कांग्रेस बनाउनुपरेको छ।’

शेखरको प्रयत्नले पाउला सार्थकता?

दुई समूहबीच टसल बढेका बेला नेता डा. शेखर कोइराला भने एकता गर्ने प्रयत्नमा छन्। उनले गत मंगलबार आफ्नै सम्पर्क कार्यालय विशालनगरमा सबै पक्षका नेताहरूलाई छलफलका लागि बोलाएका थिए।

छलफलमा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वसहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, बलबहादुर केसी, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईँ, मिनेन्द्र रिजाल सहभागी थिए।

किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, दिलेन्द्र बडू, डा. गोविन्दराज पोख्रेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भूपेन्द्रजंग शाही, तिलक रुवाली, विनोद कायस्थ, हरि अधिकारी पनि सहभागी भए।

बैठकमा विश्व अर्याल, हुर्मत न्यौपाने, गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला, रिना उप्रेती, वासुदेव जङ्गली, गीता देवकोटा, विष्णु सापकोटा, रञ्जित कर्णलगायतका सहभागी थिए।

बैठकमा शेखर निकट मात्रै नभई पार्टी विभाजन गर्न नहुने देउवापक्षीय नेताहरू पनि सहभागी थिए। त्यस्तै बैठकमा गगनले केन्द्रीय सदस्यमा मनोनीत गरेका सुजाता कोइराला, जीवन परियार, डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला पनि सहभागी थिए।

कांग्रेस नेता धर्मराज शाहीका अनुसार सार्वजनिक आह्वानदेखि भेटघाटसम्म गरेर डा. शेखर एकतामा जोड दिइरहेका छन्।

‘व्यक्तिगत भेटघाटमा पनि शेखर दाइ व्यस्त हुनुहुन्छ। उहाँको जोड जसरी भए पनि कांग्रेसलाई एक ढिक्का राख्ने हो,’ शेखर निकट मानिने शाही थप्छन्, ‘कांग्रेसलाई कमजोर पार्दा मात्र लोकतन्त्र कमजोर हुन्छ भन्ने बुझेर केही शक्ति लागेका छन्। हाम्रा केही नेताहरू पनि त्यतै दौडिएका छन्। तर शेखर दाइ जसरी पनि एक ढिक्का राख्ने प्रयत्नमा हुनुहुन्छ।’

कोइराला सचिवालयका अनुसार शेखरले सम्पर्क कार्यालयमा कार्यक्रम गरेको अघिल्लो दिन देउवालाई भेटेका थिए। ‘शेखर दाइले तीनपटक त शशांक दाइलाई पनि भेट्नुभयो। निरन्तर संवादमा हुनुहुन्छ,’ उनीनिकट एक नेता भन्छन्।

यो पनि

पूर्णबहादुरले छाडे देउवा! सभापतिमा गगनविरुद्ध लड्ने, नजिते वरिष्ठ नेता बन्ने दाउ

प्रकाशित: १९ भदौ २०८३ २०:४३ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast