काठमाडौँ- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षामा सुधारका विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका आफूहरुका मागका बारेमा सरकारलाई जानकारी गराउने र आन्दोलन पनि सँगसँगै अघि बढाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
भदौ लाग्ने बित्तिकै विस्तारित कार्यसमितिको बैठक बस्ने र त्यसअघि शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष मागहरू सूचीकृत गरी ध्यानाकर्षणपत्र बुझाइने उनले जानकारी दिए।
उनले शिक्षक तथा कर्मचारीहरूका दुःख, मर्का र पीडाहरू बढेकाले सहभागीता झन् बढ्ने भन्दै आन्दोलन क्रमशः पालिका, जिल्ला र प्रदेश हुँदै काठमाडौँसम्म आइपुग्दा यसअघिको भन्दा अझ ठूलो र सशक्त हुने उल्लेख गरे।
महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको जनाएको छ।
साथै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्न सरकारसँग माग गरेको छ।


