काठमाडौँ- नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद्बाट पारित संशोधित विधान बुधबार शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलसमक्ष पेस गरिएको छ।
महासंघको यही साउन १६ र १७ गते काठमाडौँमा सम्पन्न तेस्रो राष्ट्रिय परिषद् एवं विधान अधिवेशनले पारित गरेको संशोधित विधान परिषद्को निर्णय, निर्देशन तथा भावनाअनुसार कार्यान्वयन प्रक्रियालाई अघि बढाउने उद्देश्यले मन्त्रालयमा बुझाइएको हो।
संशोधित विधान हस्तान्तरणका क्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली तथा उपमहासचिव मदनराज जोशीको सहभागिता रहेको थियो।
महासंघले परिषद् सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण प्रतिनिधि, सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।
परिषद्मा पारित निर्णय, निर्देशन तथा विधानको भावना अनुरूप तोकिएका कार्यहरू समयमै सम्पन्न गर्दै कार्यान्वयनलाई प्रभावकारी रूपमा अघि बढाइने महासंघले जनाएको छ।


