काठमाडौँ- नेपाली कांगेसका निर्वतमान सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको ज्यान रहेको बताएका छन्। शनिबार महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले कुरा गर्दै उनले प्रेस फ्रिडम प्रजातन्त्रका लागि अति आवश्यक कुरा रहेको बताएका हुन्।
‘स्वतन्त्र पत्रकारिता जो हो, प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो,’ देउवाले भने,‘मेरो पक्षमा छ, मेरा पक्षमा छैन भन्ने कुरा होइन नि। कसैको व्यक्तिग पूजा होइन नि।’ प्रेसले निष्पक्ष हेर्ने बताउँदै उनले राम्रो गर्ने नगर्ने उसको काम रहेको धारणा राखे।
‘त्यसकारण प्रेस फ्रिडम इज मस्ट इन ऐनी डेमोक्रेसी, इन नेपाल आई उड सपोर्ट प्रेस फ्रिडम,’ देउवाले भने। उनले गृह प्रदेश सुदूरपश्चिम पुगेर सबैसँग भेटघाट गर्ने चाहना रहेको बताए। सुदूरपश्चिमले आफूलाई धेरै थोक गरेको उनको भनाइ थियो। ‘सुदूरपश्चिम जन्मेको मान्छे हो, धेरै माया लाग्छ मलाई,’ उनले भने,‘सुदूरपश्चिमले मलाई धेरै गरेको छ, बरू मैले धेरै थोक गर्न बाँकी छ।’
देउवाले आफू विशेष महाधिवेशनको पक्षमा कहिल्यै नरहेको बताए। विशेष महाधिवेशनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दिएको र त्यहाँबाट न्याय पाउनेमा आफू ढुक्क रहेको उनले उल्लेख गरे। ‘विशेष महाधिवेशनको पक्षमा थिएन, मुद्दा दिएका छौँ,’ उनले भने,‘अदालतमा रहेको विषयमा धेरै बोल्नु हुँदैन, मलाई विश्वास छ सर्वोच्च अदालतले न्याय दिन्छ।’


