काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत देशभरका वडा अधिवेशनमा उत्साह र हर्षोल्लासका साथ सहभागी हुन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
बिहीबार बेलुकी अपिल जारी गर्दै देउवाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीका लागि निकै महत्वपूर्ण रहेको बताएका छन्।
झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन पनि महाधिवेशन महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्।
उनले देशभरका ६ हजार ९ सय ४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्न कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गरेका छन्।
देउवाले पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर कांग्रेसलाई थप मजबुत बनाउने प्रणसमेत गरेका छन्।



