काठमाडौँ- प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
सोमबार बसेको बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ र खानी तथा खनिज पदार्थ विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहकातर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संवैधानिक निकायसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी तथा उद्योगमन्त्री गौरीकुमारीले खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए।
चारवटै प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक मंगलबार भदौ ९ गते दिउँसो १ बजे बस्नेछ।


