विश्वकपको नकआउट चरणमा इक्वेडरमाथि मेक्सिकोको जितपछि राजधानी मेक्सिको सिटीका सडकमा १० लाखभन्दा बढी समर्थक उत्सव मनाउन उत्रिएका थिए। भीडभाडका क्रममा दम घुटेर तीन जनाको मृत्यु भएको थियो। तस्बिर स्रोत : बीबीसी
काठमाडौँ- विश्वकप फुटबलमा मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गरेपछि राजधानी मेक्सिको सिटीमा भएको विजय उत्सवका क्रममा अत्यधिक भीडका कारण निसास्सिएर तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा १९ वर्षीया युवती, ४८ वर्षीया महिला र ४४ वर्षीय एक पुरुष रहेको बीबीसीले जनाएको छ। राजधानीको स्वास्थ्य प्राधिकरणका अनुसार उनीहरूलाई पासेओ दे ला रेफोर्मा क्षेत्रका विभिन्न स्थानबाट बेहोस अवस्थामा उद्धार गरी प्राथमिक उपचारपछि अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा तीनै जनाको दम घुटिएर मृत्यु भएको पुष्टि भएको छ।
सन् १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेको खुसीयाली मनाउन १० लाखभन्दा बढी समर्थक राजधानीका सडकमा उत्रिएका थिए। अधिकांश मानिस सहरको केन्द्रस्थित एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरपर भेला भएका थिए।
सहरकी मेयर क्लारा ब्रुगाडाले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले घटनापछि सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई जिम्मेवारी, सावधानी र एकअर्काप्रति संवेदनशील भएर मात्र उत्सव मनाउन आग्रह गरेकी छन्।
मेक्सिकोको जितसँगै एस्तादियो अज्टेका रंगशाला र राजधानीका विभिन्न क्षेत्रमा रातभर उत्सव मनाइएको थियो। खेलअघि नै मेयर ब्रुगाडाले एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक क्षेत्रमा अत्यधिक भीड भइसकेकाले समर्थकहरूलाई अन्य स्थानबाट खेल हेर्न अनुरोध गरेकी थिइन्।
मेक्सिको सिटी महानगरीय क्षेत्रमा दुई करोडभन्दा बढी जनसंख्या बसोबास गर्छ। मंगलबारको जितसँगै मेक्सिको विश्वकपको अन्तिम १६ मा पुगेको छ। अब थोमस टुखेलको टोलीले डीआर कंगोलाई पराजित गरेमा नकआउट चरणमा मेक्सिकोले इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ।




