विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङ, सुरक्षा सहकार्यबारे छलफल

हिमाल प्रेस १ मंसिर २०८३ १४:३५ | Tuesday, November 17, 2026
विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङ, सुरक्षा सहकार्यबारे छलफल

यूएई- गृहमन्त्री सुदन गुरुङले अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्न विभिन्न देशका प्रहरी संगठनबीच सहकार्य, सूचना आदानप्रदान र प्राविधिक सहयोग विस्तार गर्नुपर्ने बताएका छन्।

यूएईमा सोमबारदेखि सुरु भएको पाँचौँ ‘वर्ल्ड पुलिस समिट २०२६’ मा सहभागी हुने क्रममा मन्त्री गुरुङले विभिन्न देशका गृहमन्त्री, प्रहरी प्रमुख तथा सुरक्षा अधिकारीहरूसँग सुरक्षा सहकार्य र प्रविधि आदानप्रदानका विषयमा छलफल गरेका छन्।

नेपाली राजदूतावास अबुधाबीका अनुसार सम्मेलनका क्रममा उनले यूएईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमसँग पनि भेटवार्ता गरेका छन्।

भेटमा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती, प्रहरी संगठनबीचको सहकार्य तथा आधुनिक सुरक्षा प्रणालीको विकासलगायतका विषयमा छलफल भएको थियो।

‘भावी पुस्ताको सुरक्षाका लागि विश्वव्यापी प्रहरी सहकार्यलाई एकताबद्ध’ गर्ने नारासहित दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित सम्मेलनमा विभिन्न देशका गृहमन्त्री, प्रहरी प्रमुख, सुरक्षा अधिकारी तथा विज्ञहरूको सहभागिता छ।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर अपराध, डिजिटल वित्तीय ठगी नियन्त्रण, क्रिप्टोकरेन्सीसम्बन्धी अपराध, आधुनिक फरेन्सिक प्रविधि, लागूऔषध ओसारपसार तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, ड्रोन तथा रोबोटिक्स प्रविधि र अन्तरिक्ष सुरक्षालगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान हुनेछ।

बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनबीच सूचना आदानप्रदान, प्राविधिक सहयोग, अनुसन्धानमा सहकार्य र आधुनिक प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिइनेछ।

सम्मेलनमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रका नेतृत्वकर्तासँग छलफल तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको सुरक्षा निकायको आधुनिकीकरण, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय प्रहरी सहकार्य विस्तारमा सहयोग पुग्ने गृहमन्त्री गुरुङले बताएका छन्।

आयोजकका अनुसार सम्मेलनमा ९० भन्दा बढी देशका २२० भन्दा बढी प्रहरी तथा सुरक्षा क्षेत्रका नेतृत्वकर्ता, विज्ञ र निर्णयकर्ता सहभागी छन्। नोभेम्बर १६ देखि १८ सम्म सञ्चालन हुने सम्मेलनमा नेपालका तर्फबाट गृहमन्त्री गुरुङको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव, उपसचिव तथा चार जना प्रहरी अधिकारीसहितको प्रतिनिधिमण्डल सहभागी छ।

गृहमन्त्री गुरुङ शुक्रबार नै यूएई पुगेका थिए भने प्रहरी वरिष्ठ उपरीक्षक ऋषिराम कँडेलसहित तीन जना प्रहरी अधिकारीको टोली आइतबार यूएई पुगेको हो।

यसअघि मन्त्री गुरुङले अबुधाबीमा यूएईका वैदेशिक व्यापारमन्त्री डा.थानी बिन अहमद अल जेयोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

भेटमा नेपालको जलविद्युत्, कृषि, पर्यटन, आतिथ्य सत्कार तथा पूर्वाधार क्षेत्रमा यूएईको लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो। विशेषगरी बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानी सम्भावनाबारे कुराकानी भएको थियो।

गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपाल-यूएई सम्बन्ध, कन्सुलर सेवा तथा यूएईमा रहेका नेपाली नागरिकको अवस्था र कल्याणसम्बन्धी विषयमा जानकारी लिएका थिए। उनले यूएईस्थित नेपाली समुदायका प्रतिनिधिसँग समेत अन्तरक्रिया गरेका थिए।

प्रकाशित: १ मंसिर २०८३ १४:३५ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast