शिक्षा मन्त्रालयले देखायो शिक्षा सुधारको उदाहरण

हिमाल प्रेस १२ असार २०८३ १२:३८ | Friday, June 26, 2026
162
SHARES
शिक्षा मन्त्रालयले देखायो शिक्षा सुधारको उदाहरण

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि उच्च शिक्षासम्मको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार आएको दाबी गरेको छ।

विगतमा महिनौँ कुर्नुपर्ने परीक्षा नतिजा अब छोटो अवधिमै सार्वजनिक हुन थालेको मन्त्रालयको भनाइ छ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ। यसअघि एसइईको नतिजा आउन लामो समय लाग्ने गरेकाले विद्यार्थी र अभिभावक अन्योलमा पर्ने अवस्था थियो।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा पनि परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ। अघिल्ला वर्षहरूमा यही नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाका अनुसार परीक्षा व्यवस्थापनलाई छिटो, व्यवस्थित र नतिजामुखी बनाउन विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि एकीकृत कार्यतालिका लागू गरिएको छ।

विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई पनि परीक्षा सम्पन्न भएको दुई महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार काम गर्न निर्देशन दिइएको उनले बताए।

केही विश्वविद्यालयमा पदाधिकारी रिक्तताका कारण निर्णय कार्यान्वयनमा चुनौती रहे पनि अधिकांश संस्थाले निर्धारित कार्यतालिकाअनुसार काम गरिरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले डिजिटल सुशासनलाई पनि प्राथमिकता दिएको जनाएको छ। वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रक्रियालाई सहज बनाउन त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको तथ्यांक प्रणालीसँग एपीआई लिंक स्थापना गरिएको छ। यसबाट विद्यार्थीको भौतिक उपस्थितिको आवश्यकता कम हुने अपेक्षा गरिएको छ।

समकक्षता प्रमाणपत्रको प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया पनि छिटो बनाइएको मन्त्रालयले जनाएको छ। आवश्यक कागजात पूरा भएका आवेदकले आवेदन दिएको दिनमै प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि यो प्रक्रियामा कम्तीमा दुईदेखि तीन दिन लाग्ने गरेको थियो।

यस्तै, शिक्षकको क्षमता अभिवृद्धिका लागि ‘सिकाइ चौतारी’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ। एपमार्फत हजारौँ शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण लिइसकेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast