भक्तपुर- नेपाल शिक्षक महासंघले आफ्नो तेस्रो राष्ट्रिय परिषद् आगामी साउन २ र ३ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। महासंघको असार ४ गते बसेको विस्तारित कार्यालयीय बैठकले उक्त निर्णय गर्दै देशभरका जिल्ला समितिलाई आवश्यक तयारी तथा सहभागिताका लागि निर्देशन दिएको छ।
महासंघद्वारा जारी परिपत्रअनुसार राष्ट्रिय परिषद्मा समसामयिक शैक्षिक अवस्था तथा शिक्षक कर्मचारीहरूको भावनालाई दृष्टिगत गरी महासंघको विधान संशोधनसमेत गरिने भएको छ। यसका लागि जिल्ला समिति तथा सम्बद्ध संस्थाहरूलाई आवश्यक सुझाव राष्ट्रिय समितिमा पठाउन आग्रह गरिएको छ।
परिपत्रमा राष्ट्रिय परिषद्मा सहभागी हुनुअघि सबै जिल्लाले अनिवार्य रूपमा जिल्ला परिषद् सम्पन्न गरिसक्नुपर्ने तथा केन्द्रबाट तोकिएका प्रतिनिधिलाई जिल्ला परिषद्मा सहभागी गराउनुपर्ने उल्लेख छ। विधानअनुसारको शुल्क केन्द्रमा पठाउनसमेत निर्देशन दिइएको छ।
महासंघले हालसम्म जिल्ला समिति गठन नभएका जिल्लाहरूमा तत्काल समिति गठन प्रक्रिया सम्पन्न गर्न तथा केन्द्रबाट तोकिएका प्रतिनिधिसँग समन्वय गर्न आग्रह गरेको छ। यस्तै, समिति गठनका क्रममा देखिएका विवाद तथा असहमतिलाई समाधान गर्न राष्ट्रिय समितिबाट खटाइएका प्रतिनिधिहरूले आवश्यक पहल गरी प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
महासंघले विद्यालय कर्मचारी तथा संघीय सिकाइ अनुदान शिक्षकहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सबै जिल्ला समितिलाई उक्त आन्दोलनको समर्थन गर्न निर्देशन दिएको छ।
यसैगरी, जिल्लास्तरमा शिक्षक तथा कर्मचारीसँग सम्बन्धित विशेष समस्या भए लिखित रूपमा राष्ट्रिय समितिमा जानकारी गराउन भनिएको छ। राष्ट्रिय परिषद्को अवसरमा स्मारिका प्रकाशन गरिने भएकाले जिल्लाका सांगठनिक गतिविधि तथा जिल्ला समितिको नामावली केन्द्रमा पठाउन पनि अनुरोध गरिएको छ।
महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित परिपत्रको बोधार्थ सबै आबद्ध तथा सम्बद्ध संस्थाका संघीय, राष्ट्रिय र केन्द्रीय समितिलाई समेत पठाइएको छ।




