काठमाडौँ- विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालमा पनि मनाइएको छ।
३५ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसंघद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो।
त्यसैअनुसार मे ३ लाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसका अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौँमा ऐक्यबद्धता ¥यालीको आयोजना गरेको थियो।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ को नारासहित आयोजित ¥याली माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा महासंघका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा राखिन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अवरोध भए कानुनी उपचारका साथै स्वतन्त्रताका पक्षमा नैतिक समर्थन जनाउने बताए।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अंग भएकाले त्यसको हनन् भएमा आयोग रक्षार्थ उभिने प्रतिवद्धता जनाए।
प्रेसको भूमिका संकुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ।



