काठमाडौँ- नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
बिहीबार महासंघका काठमाडौँलगायत सबै जिल्ला शाखामार्फत सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।
तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय विभेदकारी भएको भन्दै महासंघले दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ।
उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक प्रवन्ध, खुला अर्थ नीति र संघीयताको मर्मविपरित भएको महासंघको ठहर रहेको छ।
वैशाख १५ गतेसम्म दवावमूलक कार्यक्रम गर्ने घोषणा गरेको महासंघले माग पूरा नभए दबाबका कार्यक्रमको समीक्षा गरी थप आन्दालनको कार्यक्रम ल्याउने जनाएको छ।



