भरतपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाइ, चितवनले जिल्लाका सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई विद्यालयको शैक्षिक गतिविधिमा असर नपर्ने गरी पेसागत जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।
एकाइ प्रमुख लक्ष्मण देवकोटाद्वारा जारी पत्रमा शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ को व्यवस्था स्मरण गराउँदै सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षण र विद्यालय प्रशासनबाहेक अन्य काममा संलग्न गराउन नहुने उल्लेख गरिएको छ।
पत्रमा विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको स्वीकृति बिना शिक्षकले आफू कार्यरत विद्यालय बाहिर अन्य काम गर्न नपाउने व्यवस्था रहेको जनाइएको छ।
स्वीकृति लिएर विद्यालय समय बाहिर काम गरे पनि विद्यालयलाई आवश्यक परेको समयमा उपस्थित नभएको गुनासो प्राप्त भएकाले यस्तो कार्य नगर्न र नगराउन आग्रह गरिएको छ।
एकाइले शिक्षकलाई विद्यालयको शैक्षिक गतिविधिमा बाधा नपुग्ने गरी पूर्ण पेसागत जवाफदेहिता वहन गर्न अनुरोध गरेको छ।
उक्त पत्रको बोधार्थ चितवनका सातवटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा समेत पठाइएको छ।



