सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षामा निजी विद्यालयले सघाउने

हिमाल प्रेस २१ वैशाख २०८३ १३:५१ | Monday, May 4, 2026
14
SHARES
सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षामा निजी विद्यालयले सघाउने काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग निजी तथा संस्थागत विद्यालय सञ्चालकहरू। तस्बिर : काठमाडौँ महानगर

काठमाडौँ- उपत्यकाका नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी अभियानका कारण प्रभावित बालबालिकाको शिक्षामा निजी तथा संस्थागत विद्यालयले सघाउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा राखिएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउन निजी विद्यालयसँग सहकार्यको आह्वान गरेपछि सम्बन्धित संघसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न आफूहरू तयार रहेको जनाएका हुन्।

उनीहरूको विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि परिस्थितिमा खलल हुन नदिन राज्य, समाज र शैक्षिक क्षेत्रको साझा दायित्व भएको उल्लेख गरिएको छ। हालको परिस्थितिप्रति संवेदनशील रहँदै स्थानीय तहसँग सहकार्य गरेर समस्या समाधानमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाइएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित तथा वास्तविक सुकुम्बासी परिवारका बालबालिकालाई निःशुल्क अध्ययनको अवसर उपलब्ध गराउने, आवश्यकताअनुसार आवास र यातायातको व्यवस्था गर्ने तथा शिक्षामा निरन्तरता कायम गर्न सहजीकरण गर्ने कार्यमा आफूहरू सक्रिय रहने विज्ञप्तिमा उल्लेख छ।

यसअघि राष्ट्रियसभा गृहमा आयोजित छलफलमा डंगोलले निजी विद्यालयलाई तत्काल मानवीय आधारमा सहकार्य गर्न आग्रह गरेकी थिइन्। उनले अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकालाई नियमित विद्यालयमा लैजान सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएकी थिइन्।

सोही छलफलपछि निजी विद्यालयका छाता संगठनहरूले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सहकार्य गर्न तयार रहेको सन्देश दिँदै सम्पूर्ण सरोकारवालालाई समेत यस मानवीय पहलमा ऐक्यबद्ध हुन आह्वान गरेका छन्।

प्रकाशित: २१ वैशाख २०८३ १३:५१ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast