१५ वर्षपछि ढल्यो ‘ममता–सत्ता’

हिमाल प्रेस २१ वैशाख २०८३ १७:०४ | Monday, May 4, 2026
22
SHARES
१५ वर्षपछि ढल्यो ‘ममता–सत्ता’

काठमाडौँ- भारतको पश्चिम बंगालमा करिब १५ वर्षपछि सत्ता परिवर्तन हुने देखिएको छ। हालै सम्पन्न विधानसभा निर्वाचनपछि सोमबार भइरहेको मतगणनामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले अग्रता कायम गरेको हो।

मतगणनाको पछिल्लो नजिताअनुसार बीजेपी दुई तिहाइ बहुमत नजिक देखिएको छ। अहिले देखिएको मतगणनाको रुझान नतिजामा परिणत भए विगत १५ वर्षदेखि पश्चिम बंगलामा सत्ता सम्हालिरहेकी ममत बनर्जीको पार्ट तृणमूल कांग्रेस (टीएमसी) लाई ठूलो धक्का लाग्ने निश्चित छ।

पश्चिम बंगालको कुल २९४ विधानसभा सिटमध्ये बीजेपीले १९६ मा अग्रता कायम गरेको छ। त्यहाँ सरकार बनाउन बहुमत संख्या १४८ रहेको छ। तर, बीजेपीले कायम गरेको अग्रता नतिजमा परिणत भए दुई तिहाइ संख्या पुग्ने निश्चित देखिन्छ।

टीएमसी ९१, कांग्रेस २, वामपन्थी पार्टी २ र अन्य २ स्थानमा अगाडि छन्।

यसअघि भएको विधानसभा निर्वाचनमा बीजेपीले पश्चिम बंगालमा जम्मा ५९ सिट जितेको थियो। भारतका ठूला राज्यहरू उत्तर प्रदेश र बिहारमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाइसकेको बीजेपीको नजर पश्चिम बंगालमा थियो।

पश्चिम बंगाल निर्वाचनका क्रममा गृहमन्त्रीसमेत रहेका बीजेपी नेता अमित शाह लगातार १५ दिन त्यहाँ बसेका थिए। दर्जनौँ सभाहरूमा सहभागी भएका उनी आफैँले चुनावी रणनीति बनाएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ पश्चिम बंगालको विभिन्न निर्वाचन क्षेत्रमा उपस्थित भएर चुनावीसभा र रोड शोहरूमा सहभागी भए। चुनाव अभियानकै क्रममा सुरक्षा ‘प्रोटोकल’ तोड्दै एक पसलमा पुगेर चटपटे ‘झालमुडी’ खाएको घटनाले पनि त्यहाँका मतदाताहरूलाई प्रभावित बनायो। मोदीले चटपटे खाएको निर्वाचन क्षेत्रमा बीजेपीले अग्रता लिएको छ।

पश्चिम बंगालमा आफ्नो नेतृत्वमा सरकार बनाउन बीजेपीले लामो समयदेखि परिश्रम गर्दै आइरहेको थियो। यस निर्वाचनअघि पनि बीजीपीका नेता कार्यकर्ताहरूले चुनावीसभा बाहेक प्रत्येक बुथदेखि घरघरसम्म पुगेर रणनीति बनाएका थिए।

ऐतिहासिक जितका साथ बीजेपीले पश्चिम बंगालमा पहिलोपटक सरकार बनाउने दिशामा अगाडि बढेको छ। बीजेपीको चुनावी अभियानअघि टीएमसी प्रमुख एवं पश्चिम बंगालकी मुख्यमन्त्री ममताको रणनीति विफल भएको छ।

बीजेपीले कसरी रच्यो इतिहास?

पश्चिम बंगालको यो चुनावी रुझानले त्यहाँको ठूलो राजनीतिक परिदृश्य फेरिने संकेत गरेको छ। मतगणनाको रुझानले भौगोलिक रुपमा बाँडिएको जनादेशको संकेत दिएको छ। बीजेपी सीमावर्ती, आदिवासी र औद्योगिक क्षेत्रमा अगाडि देखिएको छ भने टीएमसी कोलकत्ताको केही भाग र केही ग्रामीण क्षेत्रहरूमा मात्र सीमित देखिएको छ।

सुरुवाती गणनामा बीजेपी र टीएमसीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। तर, गणना अगाडि बढ्दै गएपछि बीजेपीले अग्रता कायम गर्‍यो। पहिलोपटक सत्तामा पुग्न लागेको खुसीमा बीजेपी कार्यकर्ताहरू बंगालदेखि दिल्लीसम्म खुसी मनाइरहेका छन्।

चलेन ममताको रणनीति?

सन् २०११ देखि लगातार १५ वर्ष सत्तामा रहेका कारण उत्पन्न ‘एन्टी–इनकम्बेन्सी (सत्ताविरोधी लहर)’ र भ्रष्टाचारको आरोपलाई बीजेपीले मुख्य हतियार बनायो।

यसपटक बीजेपीले ममतामाथि व्यक्तिगत ‘हमला’ गर्नुको सट्टा पूरा व्यवस्थालाई निशाना बनायो। साथै २०१९ को हारबाट पाठ सिक्दै उसले ‘माइक्रो म्यानेजमेन्ट’ माथि जोड दियो। गृहमन्त्री अमित शाह १५ दिन त्यहाँ बसेर ‘थ्री एम ब्लुप्रिन्ट’ अन्तर्गत ८० हजार ७१९ बुथको तथ्यांक विश्लेषण गरी रणनीति बनाए।

बीजेपीले ‘माइक्रो–म्यानेजमेन्ट’ अन्तर्गत एक कार्यकर्तालाई ३० देखि ६० जना मतदातालाई बुथसम्म ल्याउने जिम्मेवारी दिएको थियो। ‘बाहिरी नेता’ थोपारिएको भाष्य चिर्न यसपटक स्थानीय अनुहारहरूलाई अगाडि सारियो बीजेपीको मुख्यमन्त्री ‘बंगालकै माटोको छोरा’ हुने घोषणा गरियो।

यी र यस्ता रणनीतिकहरूका कारण बीजेपी पश्चिम बंगालमा विगत १५ वर्षदेखि रहेको ‘ममता–सत्ता’ ढाल्न सफल भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast