पश्चिम बंगालमा हिंसा, चार जनाको मृत्यु

हिमाल प्रेस २३ वैशाख २०८३ १६:३४ | Wednesday, May 6, 2026
8
SHARES
पश्चिम बंगालमा हिंसा, चार जनाको मृत्यु भारतको पश्चिम बंगाल राज्यमा केही दिनअघि भएको चुनावमा मतदान गरेको संकेत स्वरूप औँला देखाउँदै मतदाता। तस्बिर : एएफपी/रासस

काठमाडौँ-  भारतको पश्चिम बंगालमा निर्वाचन परिणामपछि हिंसा भड्किएको छ। हिंसाका क्रममा चार जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्। केन्द्रीय सुरक्षाबलको ठूलो संख्यामा तैनाथीका कारण चुनाव प्रायः हिंसामुक्त रहे पनि परिणाम सार्वजनिक भएपछि राज्यका विभिन्न क्षेत्रमा सुरु भएको हिंसामा धेरै जना घाइते भएका छन्।

धेरै स्थानमा तृणमूल कांग्रेसका कार्यालयमा आक्रमण, आगजनी, तोडफोड तथा पार्टीका समर्थक र कार्यकर्ताका घरहरूमा समेत आक्रमण भएको विवरणहरू बाहिर आएका छन्। सोमबार रातिदेखि जारी हिंसापछि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राज्यका उच्च प्रहरी तथा प्रशासनिक अधिकारीहरूलाई हिंसामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

कोलकाताका प्रहरी आयुक्त अजय नन्दले पनि बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्ता तत्त्वहरूलाई हिंसाबाट टाढा रहन चेतावनी दिएका छन्। उनले विजय जुलुसमा बुलडोजर प्रयोग गर्नसमेत रोक लगाएका छन्। हिंसाको आरोपमा प्रहरीले राज्यका विभिन्न क्षेत्रबाट अहिलेसम्म ८० जनालाई पक्राउ गरेको छ।

सोमबार निर्वाचन परिणाममा बीजेपीले बहुमत हासिल गरेसँगै कोलकातालगायत राज्यका विभिन्न स्थानमा तृणमूल कांग्रेसका कार्यालयहरूमा तोडफोड भएको खबर आउन थालेको थियो।

मंगलबार आसनसोल क्षेत्रमा पार्टीको एक कार्यालयमा आगजनी गरिएको थियो। अन्य धेरै स्थानबाट पनि यस्तै घटनाको विवरण सार्वजनिक भएका छन्। केही ठाउँमा तृणमूल कांग्रेसका कार्यालयमा राखिएका झण्डा हटाएर त्यहाँ बीजेपीका झन्डा फहराइएको र गेरुवा रङ लगाइएको फोटो तथा भिडियो पनि बाहिर आएका छन्।

कोलकातामा बीजेपीको विजय जुलुसका क्रममा एउटा बुलडोजर प्रयोग गरेर न्यु मार्केट क्षेत्रमा मासु पसल भत्काइएको भिडियो भाइरल भएको छ। यद्यपि यसको सत्यता पुष्टि भएको छैन।

कोलकाताका प्रहरी आयुक्त अजय नन्दले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हिंसा र आगजनीका आरोपमा राज्यका विभिन्न क्षेत्रबाट ८० जनालाई पक्राउ गरिएको छ। साथै केही हतियारहरू पनि बरामद गरिएका छन्।’

उनका अनुसार हिंसा नियन्त्रण गर्नमा प्रहरीको लापरबाही देखिएमा सम्बन्धित अधिकारीहरूविरुद्ध पनि कारबाही गरिनेछ। प्रहरी आयुक्तले भने, ‘कुनै पनि पार्टीले विजय जुलुस निकाल्नुअघि प्रहरीबाट अनुमति लिनुपर्नेछ। यस्ता जुलुसमा जेसीबी (बुलडोजर) प्रयोग गर्न पाइँदैन। कुनै जुलुसमा जेसीबी देखिएमा त्यसका मालिकमाथि कारबाही गरिनेछ।’

राज्यमा कानुन र व्यवस्था कायम राख्न प्रहरी र केन्द्रीय सुरक्षाबलले संयुक्त कन्ट्रोल रुम स्थापना गरेका छन्। सम्पूर्ण राज्यभर २४० वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तैनाथ गरिएको छ। साथै मोटरसाइकलमार्फत गस्ती पनि सुरु गरिएको छ।

हिंसाका विभिन्न घटनामा तृणमूल कांग्रेस र बीजेपीले आफ्नाआफ्ना दुईदुई समर्थकको मृत्यु भएको दाबी गरेका छन्। हावडा जिल्लाको उदयनारायणपुरमा सोमबार राति जादव बार नामका एक बीजेपी समर्थकलाई कुटपिट गरी हत्या गरिएको थियो। बीजेपीका स्थानीय नेता प्रशान्त डेले चुनावमा सक्रिय रहेको कारण जादव विपक्षीको निसानामा परेको दाबी गरेका छन्।

हावडा प्रहरीका एक अधिकारीका अनुसार जादव विजय जुलुसमा सहभागी भएर राति अबेर घर फर्किएका थिए। केही समयपछि केही व्यक्तिले उनलाई घरबाट बाहिर बोलाएर फलामका रडले कुटपिट गरी हत्या गरेका थिए।

कोलकातासँग जोडिएको न्यु टाउन क्षेत्रमा बीजेपी कार्यकर्ता मधु मण्डलको पनि विपक्षी दलका समर्थकहरूले हत्या गरेको आरोप लगाइएको छ।

उनका एक आफन्तले भने, ‘मण्डल बीजेपीका समर्पित कार्यकर्ता थिए। यस क्षेत्रमा बीजेपी उम्मेदवारको जितपछि तृणमूल कांग्रेसका मानिसहरूले उनको हत्या गरेका हुन्।’

मंगलबार नै वीरभूम जिल्लाको नानुरमा कथित बीजेपी समर्थकहरूले तृणमूल कांग्रेस समर्थक अबिर सेखको हत्या गरेको आरोप छ। तर बीजेपीले यो आरोपलाई निराधार भन्दै अस्वीकार गरेको छ।

कोलकाताको बेलियाघाटा क्षेत्रमा तृणमूल कांग्रेसका अर्का कार्यकर्ता विश्वजित पटनायकको शव पनि उनको घर बाहिरबाट फेला परेको समाचारमा उल्लेख छ।

विश्वजितका एक आफन्तले पत्रकारहरूसँग भनेका छन्, ‘बीजेपी समर्थकहरूले घरको ढोका तोडेर उनलाई बाहिर निकाले र कुटपिट गरी हत्या गरे।’

कोलकाताका पूर्वमन्त्री तथा टालिगन्ज क्षेत्रबाट तृणमूल कांग्रेसका पूर्व विधायक अरूप विश्वासको कार्यालयमा पनि तोडफोड गरिएको छ। महानगरका विभिन्न स्थानमा तृणमूल कांग्रेसका थुप्रै कार्यालयमा तोडफोड भएको छ।

मुख्यमन्त्री ममता बनर्जीको भवानीपुर क्षेत्रमा एक पार्षदको कार्यालय तोडफोडपछि आगजनी गरिएको छ।

वीरभूम, नदिया, हावडा, दक्षिण २४ परगना र बांकुडा जिल्लाका विभिन्न क्षेत्रमा पनि हिंसा र तोडफोडका घटनाहरू सार्वजनिक भएका छन्।

प्रहरीका एक अधिकारीका अनुसार केही स्थानमा असामाजिक तत्त्वत र प्रहरीबीच भएको झडपमा धेरै प्रहरी घाइते भएका छन्।

उत्तर २४ परगना जिल्लाको सन्देशखाली क्षेत्रमा असामाजिक तत्वहरूको गोली प्रहारमा नजत थानाका इन्चार्जसहित दुई जना अन्य प्रहरी अधिकारी र केन्द्रीय सुरक्षाबलका दुई जवान घाइते भएका छन्।

तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीले बीजेपीमाथि सम्पूर्ण राज्यमा हिंसा फैलाएको आरोप लगाएका छन्।
उनले पत्रकारहरूसँग भने, ‘हाम्रा कार्यकर्ताहरूको हत्या भइरहेको छ। पार्टीका कम्तीमा चार सय कार्यालयमा तोडफोड गरिएको छ। साथै हाम्रा डेढ सय उम्मेदवारका घरहरूमा आक्रमण भएको छ।’

बीजेपीले भने हिंसात्मक घटनामा आफ्नो कुनै पनि कार्यकर्ता वा समर्थक संलग्न नभएको दाबी गरेको छ। पार्टीका प्रदेश अध्यक्ष समिक भट्टाचार्यले राज्यका मुख्य सचिवलाई हिंसा नियन्त्रण गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

उनले आफ्ना पार्टी कार्यकर्ताहरूलाई हिंसाबाट टाढा रहन, शान्ति कायम राख्न र विजयको उत्सव मनाउँदा संयम अपनाउन अपिल गरेका छन्। समिकले भने, ‘कुनै पनि प्रकारको हिंसा सह्य गरिने छैन। यदि पार्टीको कुनै कार्यकर्ता हिंसात्मक गतिविधिमा संलग्न पाइएमा उसलाई पार्टीबाट निष्कासित गरिनेछ।’

विधानसभा विपक्षका नेता शुभेन्दु अधिकारीले पनि आफ्ना कार्यकर्ता तथा समर्थकहरूलाई शान्ति कायम राख्न र विपक्षी दलको कुनै उक्साहटमा नआउन आग्रह गरेका छन्।

नन्दीग्राममा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘तिनीहरू (तृणमूल कांग्रेसका कार्यकर्ता) जे गरिरहेका छन्, तपाईंहरूले त्यसो नगर्नुहोस्। दुई–तीन विजय जुलुस पनि ननिकाल्नुहोस्। शपथ ग्रहणपछि प्रहरीको अनुमति लिएर यस्ता जुलुस निकाल्न सकिन्छ।’

प्रकाशित: २३ वैशाख २०८३ १६:३४ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast