काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग पार्टी मुख्यालय नयाँदिल्लीमा भेटवार्ता गरेका छन्।
भाजपाको मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नवीनले लामिछानेसहित रास्वपाको प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। सो अवसरमा उनले भारत र नेपालबीचको दीर्घकालीन सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको गहिरो सम्बन्धबारे चर्चा गर्दै यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई सुदृढ बनाउनुका साथै दल–दलबीचको सम्बन्धलाई थप बलियो बनाउने बताएका थिए।
नवीनले भाजपाको राजनीतिक यात्रा, वैचारिक आधार, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक अभ्यासबारे पनि जानकारी गराएका थिए।
भाजपाद्वारा जारी विज्ञप्तिअनुसार उनले पार्टीले राष्ट्रिय तहदेखि मतदान केन्द्र (बुथ) सम्म कसरी संगठन सञ्चालन गर्छ भन्ने विषयमा जानकारी दिएका थिए। साथै आमनागरिकसँग निरन्तर सम्बन्ध कायम राख्न जरा तहका कार्यकर्ताको भूमिकालाई विशेष महत्व दिइएको पनि उनले बताएका थिए।
यो भ्रमण भाजपाको ‘नो बीजेपी’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो। उक्त कार्यक्रमको उद्देश्य अन्य देशका राजनीतिक दल तथा प्रतिनिधिहरूलाई भाजपाको संगठनात्मक संरचना, कार्यप्रणाली र दृष्टिकोणबारे जानकारी गराउनु रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार अन्तरक्रियाका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले भाजपाको सदस्यता विस्तार अभियान, उम्मेदवार छनोट प्रक्रिया तथा तल्लो तहका कार्यकर्तासँग सम्बन्ध कायम राख्ने संयन्त्रबारे विशेष चासो देखाएको थियो।
कार्यक्रममा अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको विकासमुखी शासन मोडेलबारे चर्चा गर्दै सेवा, सुशासन र प्रभावकारी कल्याणकारी कार्यक्रमको कार्यान्वयन भाजपाको मूल राजनीतिक दर्शन भएको बताएका थिए।
भेटवार्तामा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह, सांसद सञ्जय जायसवाल, बाँसुरी स्वराज तथा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतका वरिष्ठ नेताहरूको पनि उपस्थिति रहेको थियो।
रास्वपा प्रतिनिधिमण्डलले भाजपाको मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। लामिछाने भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन्। उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।
यसैबीच रास्वपाका प्रवक्ता मनीष झाले भारत भ्रमणमा रहेका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। उनले भने, ‘उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श हुने अपेक्षा छ।’




