प्रधानमन्त्री बालेन।
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा क्षेत्रमा दलगत राजनीति हटाउन सरकारले अध्यादेश ल्याएको बताएका छन्। उनले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय तथा विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्न अध्यादेशमार्फत व्यवस्था गरिएको उल्लेख गरेका हुन्।
प्रधानमन्त्री शाहले मंगलबार विद्यार्थी संगठनहरू वर्षौंदेखि दलगत स्वार्थमा केन्द्रित हुँदै आएको उल्लेख गर्दै यसले शिक्षाको मूल उद्देश्य नै प्रभावित पारेको बताए। ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो,’ उनले भने,‘योग्यता भन्दा पहुँच र झण्डाको मूल्य बढ्दा शिक्षा प्रणालीप्रति जनविश्वास कमजोर बन्यो।’
उनका अनुसार शिक्षालयहरूमा राजनीतिक झण्डा र गतिविधि नियन्त्रण गर्दा विद्यार्थीको अधिकार नखोसिने बरु शैक्षिक वातावरण अझ स्वतन्त्र र मर्यादित बन्नेछ। ‘शिक्षालयमा दलको झण्डा निषेध गर्दा पेसागत स्वतन्त्रता बलियो हुन्छ,’ उनले भने।
प्रधानमन्त्री शाहले अब शिक्षामा नियुक्ति, अवसर र मूल्यांकनका आधारहरू दलगत निकटता नभई क्षमता, दक्षता र विधि हुनुपर्नेमा जोड दिए। ‘विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन,’ उनले भने, ‘हामीले सभ्य, जिम्मेवार र विचारमा आधारित राजनीतिक चेतना विकास गर्न चाहेका हौँ।’
उनले यो कदम कुनै दलविरुद्ध नभई शिक्षा प्रणाली सुधारका लागि भएको दाबी गरे। ‘यो प्रणाली बचाउने प्रयास हो, भविष्य बचाउने प्रयास हो,’ उनले भने, ‘शिक्षालयलाई दलगत संक्रमणबाट मुक्त गर्ने हाम्रो लक्ष्य हो।’



