चितवन- नयाँ सरकार गठनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ सालको एसइई सफलतापूर्वक सञ्चालन गरेको भन्दै प्रशंसा गरिए पनि नयाँ शैक्षिक सत्र २०८३ ढिलो सुरु गर्ने निर्णयप्रति अभिभावकहरूले असन्तुष्टि जनाएका छन्।
भरतपुर महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयसँग सम्बन्धित अभिभावक संघहरूले संयुक्त अपिल जारी गर्दै विद्यालय यथाशीघ्र सञ्चालन गर्न माग गरेका हुन्।
उनीहरूले हाल पेट्रोलियम पदार्थको अभावका कारण हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाले विद्यार्थीको सिकाइ उपलब्धिमा नकारात्मक असर पर्ने बताएका छन्।
अभिभावकहरूका अनुसार पाठ्यक्रमअनुसार आवश्यक शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्यांकन प्रभावित हुने, विद्यार्थीमा मानसिक दबाब र अन्योल बढ्ने तथा लामो समय घरमै बस्दा बालबालिकाको सर्वाङ्गीण विकासमा बाधा पुग्ने खतरा छ। मोबाइल र टेलिभिजनको अत्यधिक प्रयोग तथा असुरक्षित रूपमा बाहिर घुमफिर गर्ने जोखिम पनि बढ्ने उनीहरूको चिन्ता छ।
वैशाख ४ गते भरतपुरमा आयोजित सरोकारवालासहितको अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र संस्थागत विद्यालय अभिभावक संघले संयुक्त रूपमा विद्यालय सञ्चालनको माग गरेका हुन्।
संस्थागत विद्यालय अभिभावक संघ भरतपुर महानगर समितिका अध्यक्ष भोजराज न्यौपाने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष सुदीप सुवेदीले हस्ताक्षर गरेको अपिलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र महानगरको शिक्षा शाखाले आवश्यक समन्वय गरी छिटो पठनपाठन सुरु गर्न आग्रह गरिएको छ।
उक्त अपिलमा भरतपुर महानगरभित्रका सबै विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई विद्यार्थीको हितलाई केन्द्रमा राख्दै तत्काल शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आह्वान गरिएको छ।




