धनुषा- मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सबै विद्यालयमा नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई भर्ना अभियानसँगै नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन हुने र वैशाख २१ गतेबाटै पठनपाठन सुरु गर्ने निर्णय भएको थियो। तर स्थानीय तहलाई आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापनको अधिकार रहेको उल्लेख गर्दै सबै विद्यालयलाई समयमै कक्षा सञ्चालन गर्न भनिएको छ।
त्यस्तै, पाठ्यपुस्तक वितरणमा ढिलाइ भएमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न पनि आग्रह गरिएको छ। गाउँपालिकाले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा विद्यालय सञ्चालन हुने जानकारी दिइएको छ।



