गृहमन्त्री गुरुङको स्पष्टीकरण : २५ लाखको सेयर लुकाइएको आरोप अस्वीकार

हिमाल प्रेस ७ वैशाख २०८३ १३:५१ | Monday, April 20, 2026
28
SHARES
गृहमन्त्री गुरुङको स्पष्टीकरण : २५ लाखको सेयर लुकाइएको आरोप अस्वीकार

काठमाडौँ- गृहमन्त्री सुदन गुरुङले आफ्नो नाम जोडिएर पछिल्ला दिनमा उठेका सेयर लगानीसम्बन्धी विवादबारे स्पष्टीकरण दिँदै खण्डन गरेका छन्। उनले सार्वजनिक रूपमा फैलिएका हल्लाभन्दा तथ्य प्रमाणका आधारमा मूल्यांकन गर्न आग्रह गरेका छन्।

गुरुङले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको भन्ने आरोपलाई अस्वीकार गरे। आफूले धितोपत्र बजारमा कारोबार हुने दुई करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै खुलाएको दाबी उनको छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको गुरुङले दाबी गरेका छन्। यसलाई लुकाइएको नभई वर्गीकरणको विषयका रूपमा बुझ्नुपर्ने उनले बताए।

‘लुकाउने व्यक्ति आफैँले खुला रूपमा करोडौँको सम्पत्ति देखाउँदैन’, गुरुङले फेसबुकमा लेखेका छन्।

मन्त्री गुरुङले मन्त्री हुनुअघि सेयर खरिद गरेको विषयलाई लिएर उठेको प्रश्नमा सेयर बजारमा लगानी गर्नु कानुनी रूपमा वैध क्रियाकलाप भएको स्पष्ट पारेका छन्। उनका अनुसार सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको सम्पूर्ण विवरण रेकर्डमा उपलब्ध छ।

स्रोतबारे उनले लगानी रकम ऋणमार्फत जुटाइएको उल्लेख गर्दै २०८० भदौ २९ गतेको तमसुकअनुसार उक्त रकम बैंकिङ प्रणालीमार्फत आएको र लगानीमा प्रयोग गरिएको जानकारी दिए। ‘पैसा कहाँबाट आयो भन्ने कुरा अनुमान होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्छ’, उनले भनेका छन्।

विवादित व्यक्तिसँग साझेदारी भन्ने आरोपप्रति उनले एउटै कम्पनीमा हजारौँ सेयरधनी रहने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको तर्क गरेका छन्। ‘त्यसलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ’, उनले भने।

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपमा उनले छानबिन गर्ने अधिकार गृह मन्त्रालयमा नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागमा रहेको स्पष्ट पारे। उक्त निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको र आफूले कुनै हस्तक्षेप नगरेको उनको दाबी छ।

गुरुङले व्यापारिक लगानीमा जोखिम रहने भन्दै पछि भएका घटनालाई अघि गरिएको निर्णयको दोष बनाउनु तथ्यभन्दा सुविधाअनुसारको व्याख्या भएको बताए।

प्रतिक्रिया दिन ढिलाइ भएको विषयमा उनले कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने स्पष्ट पारे। ‘हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ’, उनले लेखेका छन्।

पार्टीको नारा र व्यवहारबीच अन्तर भएको भन्ने टिप्पणीप्रति उनले व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोका रूपमा व्याख्या गर्नु गलत भएको बताए।

गुरुङले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै सबै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले पार्टीले गर्ने निर्णय पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

प्रकाशित: ७ वैशाख २०८३ १३:५१ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast