गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

हिमाल प्रेस ७ वैशाख २०८३ १३:१४ | Monday, April 20, 2026
20
SHARES
गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित सम्पत्ति विवादमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेसविज्ञप्तिमा कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आफ्नो पूर्वनिर्णय दोहोर्‍याउँदै पारदर्शिता र जवाफदेहितालाई लोकतन्त्रको आधारभूत स्तम्भका रूपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा यस्ता विषयमा विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख गर्दै कांग्रेसले नैतिकता र स्वच्छ राजनीतिको संस्थागत विकासतर्फ पार्टी प्रतिबद्ध रहेको जनाएको छ। उक्त प्रयास कुनै व्यक्ति वा दल लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारका लागि भएको पनि स्पष्ट पारिएको छ।

गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएका गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै कांग्रेसले पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने आशंका रहने भएकाले छानबिन स्वतन्त्र र प्रभावरहित हुनुपर्ने धारणा राखेको छ।

कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय र निष्पक्ष छानबिन प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै ढिलासुस्ती, प्रभाव वा ढाकछोपको प्रयासले सुशासन र जनविश्वासमा गम्भीर आघात पुग्ने चेतावनी दिएको छ।

सम्पत्ति शुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको मुद्दा चर्किएपछि गृहमन्त्री गुरुङ विवादमा परेका छन्।

व्यवसायीद्वय अग्रवाल र भट्टको अग्रसरतामा अनुमति पाएका दुई लघु बिमा कम्पनीमा गुरुङले संस्थापक सेयर लगानी गरेका थिए। सुलभ अग्रवाल शंकर समूहका उपाध्यक्ष हुन्। इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट बिचौलियाका रूपमा परिचित छन्।

प्रकाशित: ७ वैशाख २०८३ १३:१४ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast