माटोको उर्वराशक्ति घट्दै गएपछि किसानले सुरु गरे गड्यौला मल उत्पादन

हिमाल प्रेस १२ कार्तिक २०८३ १६:२९ | Thursday, October 29, 2026
10
SHARES
माटोको उर्वराशक्ति घट्दै गएपछि किसानले सुरु गरे गड्यौला मल उत्पादन

कपिलवस्तु- माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामा कपिलवस्तुका किसानले गड्यौला मल उत्पादन तथा प्रयोगमा लागेका छन्।

जैविक पदार्थबाट तयार हुने गड्यौले मलले माटोको गुणस्तर सुधार गर्न र बाली उत्पादन बढाउन सहयोग गर्ने भए पनि जिल्लामा यसको उत्पादन र प्रयोग भने सीमित छ।

यशोधरा गाउँपालिकास्थित चाँदनी एकीकृत कृषि फर्मले २०७९ सालदेखि गड्यौला पालनसम्बन्धी तालिम, गड्यौलाको बीउ तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ। फर्मले १५ वटा पिटमार्फत मासिक करिब तीन हजार किलो गड्यौले मल उत्पादन गर्दै आएको छ।

उत्पादित मल प्रतिकिलो रु ३० का दरले बिक्री भइरहेको छ। गाईभैँसीको गोबर, तरकारीका बोक्रा, पातपतिङ्गरलगायत कुहिने जैविक पदार्थबाट तयार गरिने यस मलको प्रयोगले माटोको संरचना सुधार गर्न, चिस्यान कायम राख्न र बिरुवालाई आवश्यक पोषकतत्व उपलब्ध गराउन मद्दत पुग्छ। कृषकले आफ्नै खेतबारीमा प्रयोग गर्नुका साथै बढी भएको मल र गड्यौलाको बीउ बिक्री गरेर आम्दानीसमेत गर्न सक्छन्।

यशोधरा गाउँपालिका-३ बहडिलवाका कृषक कृष्णनन्द कोहारले बोडीखेतीमा गड्यौले मल प्रयोग गर्दा उत्पादन दोब्बर भएको अनुभव सुनाए।

उनका अनुसार गड्यौले मलको प्रयोगले खेतीको उत्पादन बढाउन सहयोग पुगेको छ। यशोधराका अन्य कृषकले तरकारी, धान, मकै, गहुँ र आलुलगायत बालीमा गड्यौले मलको प्रयोग गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा गड्यौले मल उत्पादन तथा प्रयोग गर्ने कृषकको यकिन तथ्यांक उपलब्ध नरहेको बताए।

रासायनिक मलको विकल्पका रूपमा गड्यौले मल उपयोगी भए पनि आवश्यक परिमाणमा उत्पादन गरी सबै कृषकसम्म पुर्‍याउन कठिन रहेको प्रमुख चौधरीले बताए।

प्रकाशित: १२ कार्तिक २०८३ १६:२९ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast