सेयर बजार
काठमाडौँ- बैंकिङ समूहका कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २६९५.६० विन्दुमा बन्द भएको छ।
कारोबार सुरु भएलगत्तै हरियो बनेको परिसूचक केही उतारचढावका बीच दिनभर बढ्दो क्रममा रह्यो। बुधबार पनि नेप्से परिसूचक ३३.३९ अंकले बढेको थियो।
बिहीबार कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। छ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
यस दिन कुल ८ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो मार्च १६ यताकै उच्च कारोबार हो। कुल ६९ हजार ६१९ कारोबारबाट २ करोड ३२ लाख ५० हजार कित्ता सेयर किनबेच भएका छन्।
कम्पनीगत रूपमा बेनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत र नेपाल पुनर्बिमा कम्पनीको ५.६१ प्रतिशतले सेयर मूल्य बढेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ३.६५ प्रतिशतले घटेको छ। लिबर्टी इनर्जी कम्पनीको ३.२० प्रतिशत र चिर्खुवाखोला हाइड्रोपावरको ३.१४ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सिद्धार्थ बैंकको २५ करोड ३८ लाख ३० हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार सबै समूहका परिसूचक बढेर बन्द भएका छन्। अन्य समूहको परिसूचक सबैभन्दा धेरै २.४५ प्रतिशतले बढेको छ। बैंकिङ समूहको परिसूचक २.२८ प्रतिशत र होटल तथा पर्यटन समूहको २.०५ प्रतिशतले बढेको छ।



