गड्यौला मलबाट वार्षिक ४५ लाखसम्म कारोबार गर्छन् सर्लाहीका सन्त लोप्चन

हिमाल प्रेस २६ साउन २०८३ १५:०६ | Tuesday, August 11, 2026
18
SHARES
गड्यौला मलबाट वार्षिक ४५ लाखसम्म कारोबार गर्छन् सर्लाहीका सन्त लोप्चन

सर्लाही- लालबन्दी नगरपालिका-२ जुटपानीका ५७ वर्षीय लोप्चनले १४ वर्षदेखि घरमै फर्म सञ्चालन गरी मल उत्पादन गरिरहेका छन्। उनका अनुसार अहिले वार्षिक रु ४० देखि ४५ लाखसम्मको मल बिक्री हुने गरेको छ भने रु २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ। ‘मिहिनेत गर्ने हिम्मत र हातमा सीप भए एकदुई लाख कमाउन विदेश जानु पर्दैन’ उनी भन्छन्।

उनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रबाट जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सातदिने तालिम लिएका थिए। तालिमपछि एक हजार गड्यौलाबाट उत्पादन सुरु गरेका उनको व्यवसाय अहिले विस्तार भएको छ।

सुरुमा बजार बनाउन कठिन भए पनि किसानलाई आफ्नै खर्चमा मल पुर्‍याएर प्रयोग गर्न दिएपछि माग बढ्न थालेको उनले बताए। अहिले काठमाडौँ, ललितपुर, भक्तपुरसहित मधेसका विभिन्न जिल्लाका एग्रोभेटसम्म उनको उत्पादन पुग्ने गरेको छ।

लोप्चनले ‘लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट’ सञ्चालन गरिरहेका छन्। २५ किलोको एक बोरा मल रु ३२५ मा बिक्री हुन्छ। उनका अनुसार एक ट्रकमा करिब ४०० बोरा मल काठमाडौँ पठाउने गरिएको छ।

मल उत्पादनबाट भएको आम्दानीले उनले आफ्ना ६ सन्तानको शिक्षादीक्षा र पालनपोषण गरेका छन्। चार जना मजदुरसँगै उनी र उनकी श्रीमती नियमित रूपमा फर्ममा काम गर्छन्।

काठमाडौँमा किराना पसलको व्यवसाय असफल भएपछि गाउँ फर्किएका लोप्चनले कृषि ज्ञान केन्द्रबाट प्राप्त प्राविधिक ज्ञानका आधारमा यो व्यवसाय सुरु गरेका हुन्।

उनका अनुसार जैविक घाँसपात, पराल र गोबर गड्यौलालाई खुवाएर मल तयार गरिन्छ। त्यसपछि तयार भएको मल छानेर प्याकिङ गरी बजार पठाइन्छ। लगानीको करिब ५० प्रतिशतसम्म फाइदा हुने उनको भनाइ छ।

कृषि जेटिए सुरज खनालले जैविक तथा गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउन सहयोग गर्ने बताए। रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उत्पादन क्षमता घट्ने भएकाले जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २६ साउन २०८३ १५:०६ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast