काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीहरूलाई बोर्ड परीक्षाका लागि शुभकामना व्यक्त गरेका छन्। यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु भएको छ।
मन्त्री पोखरेलले शुभकामना दिँदै विद्यालय शिक्षाको महत्वपूर्ण चरण पार गर्न लागेका विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरे।
उनले भनेका छन्, ‘विद्यालय शिक्षाको यो खुड्किलो पार गरेपछि तपाईँहरू थप नयाँ अनुभव र गहन सिकाइको बृहत् यात्रातर्फ अघि बढ्दै हुनुहुन्छ। यो परीक्षा केवल अंकको मापन मात्र होइन, यहाँहरूको मेहनत र लगनशीलताको प्रतिबिम्ब पनि हो।’
उनले विद्यार्थीहरूलाई नआत्तिकन धैर्यपूर्वक र आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै परीक्षालाई सिकाइको एक महत्वपूर्ण अवसरका रूपमा लिन सुझाव दिएका छन्।




