विद्यालयस्तरबाटै नैतिक र सीपमूलक ज्ञानको विकास गर्नुपर्छ : शिक्षामन्त्री तिवारी

हिमाल प्रेस ७ वैशाख २०८३ १५:०८ | Monday, April 20, 2026
6
SHARES
विद्यालयस्तरबाटै नैतिक र सीपमूलक ज्ञानको विकास गर्नुपर्छ : शिक्षामन्त्री तिवारी

धनुषा- मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाउनुपर्ने बताएकी छन्।

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री तिवारीले गुणस्तरीय शिक्षाले मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै विद्यालयस्तरबाटै अनुशासन, नैतिक शिक्षा र सीपमूलक ज्ञानको विकास गर्नुपर्ने बताइन्।

उनले मधेश प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति तथा पूर्वाधार विकासमा प्राथमिकता दिएको जानकारी गराइन्।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए।

उनले सामुदायिक विद्यालयहरूलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताए।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको विगत, वर्तमान अवस्था र आगामी योजनाबारे प्रकाश पार्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए।

उनले विद्यालयको शैक्षिक गुणस्तर अझ उकास्न आवश्यक सहयोगका लागि स्थानीय तह, अभिभावक तथा सम्बन्धित निकायसँग सहकार्यको अपेक्षा गरे।

सो अवसरमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत मेधावी तथा समावेशी छात्रछात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले १० विद्यार्थीलाई जनही रु १० हजार नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो।

प्रकाशित: ७ वैशाख २०८३ १५:०८ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast