शैक्षिक सत्रमै असमझदारी: एउटै जिल्लामा फरकफरक मितिमा विद्यालय सञ्चालन

हिमाल प्रेस १० वैशाख २०८३ १४:१२ | Thursday, April 23, 2026
8
SHARES
शैक्षिक सत्रमै असमझदारी: एउटै जिल्लामा फरकफरक मितिमा विद्यालय सञ्चालन

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन्। संघीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन्।

संघीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन्। जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ।

पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका समुदायिक विद्यालयका प्रधानाध्यापकको अनुरोधअनुसार नगरप्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गरेको बताए।

‘सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले आइतबार पनि बिदा हुने भएपछि पढाइ थोरै दिन हुने भन्दै पालिकाको शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन सुरु गर्न अनुरोध गर्नुभयो,’ उनले भने, ‘प्रअहरूले अनुरोध गरेपछि वैशाख २ देखि ६ गतेसम्म भर्ना अभियान र ७ गतेदेखि नियमित कक्षा सुरु गर्न नगर प्रमुखबाट सहजीकरण भयो।’

अहिले पालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसकेको उनले जानकारी दिए।

त्यसैगरी, कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मंगलबार र बुधबारदेखि पढाइ सुरु गराएका छन्। कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयले मंगलबारदेखि नियमित पठनपाठन सुरु गरिसकेका जानकारी दिए।

हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकामा बुधबारदेखि नियमित पठनपाठन सुरु गरिएको जानकारी दिए। जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन्।

बौदिकाली गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले कार्यपालिका बैठक बसेर बिहीबारदेखि पढाइ सुरु गर्ने निर्णय गरेको जानकारी दिए।

‘संघीय सरकारले २१ गतेदेखि मात्रै पढाइ सुरु गर्न भनेको भए पनि अभिभावकको आग्रहमा कार्यपालिका बैठकले १० गतेदेखि विद्यालयमा पढाइ सुरु गर्ने निर्णय गरेको हो,’ उनले भने।

जिल्लाको देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने संघीय सरकारको निर्देशनविरुद्ध नजाने निर्णय गरेका छन्। देवचुली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव रामप्रसाद शर्माले विद्यालयको पठनपाठन अगाडि गर्ने भनेर कार्यपालिका बैठक बसेको भए पनि पारित हुन नसकेको बताए।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहहरुले विद्यालय खुलाएका हुन्। एउटै जिल्लामा पनि फरक फरक मितिमा विद्यालय खुल्दा अभिभावक भने अन्यौलमा परेका छन्।

प्रकाशित: १० वैशाख २०८३ १४:१२ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast